भूमिपति बनेपछिको खुसी : अव घरवास बनाएर तरकारी लगाउछौँ

भूमिपति बनेपछिको खुसी : अव घरवास बनाएर तरकारी लगाउछौँ


महोत्तरी ।

बर्दिवास-२ का अमृत आले  पढ्न जान्दैनन् तर लालपुर्जामा टासेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दंग देखिन्छन । उनको खुसी अनुहारमा छल्किरहेको छ । नगरले आज वितरण गरेको लालपुर्जामा के लेखेको छ भन्ने उनलाई यसको प्रवाह त छैन तर  यो पुर्जा भूमिपति बनेको प्रमाण हो भन्ने चै थाहा छ ।

नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भूमिपति भएको खुसी साटासाट गरिरहेका थिए ।

जिन्दगीभरी कहाँ बस्ने र के खाने भन्ने त्राहित्राहि रहेका भूमिहीन तथा दलित भूमिहीन लालपुर्जा देखाउदै अनेक सपनाहरू सुनाइरहँदा खुसी र सुख के हो भन्ने अनुभुति जोकोहीले गरिरहेका देखिन्थ्यो ।

प्रमुख अथिति तथा अथितिहरुले हस्तान्तरण गरेको लालपुर्जा हातमा लिएपछि आले र उनकी श्रीमतीले नगरबाट प्राप्त जग्गामा सानो घर बनाएर तरकारी खेती गर्ने योजना सुनाए । 

बुढेसकालमा आफ्नै नाममा जग्गा भएको छ । यहाँ भन्दा ठुलो खुसी के हुन सक्छ र ?´ आले दम्पतीले भने । कमसेकम मर्ने बेलामा भूमिपति भएर मर्न पाइने भयो ।´

उमेरले डाडो काटेतापनी आले अहिलेपनि ठेला चलाउँछन् । यही पेशाबाट नै भएको आम्दानीले उनले दुई छोरी र दुई छोराको विवाह गरिदिए । छोराहरूले कमाउन थालेतापनी आफ्नै जग्गा र घर जोर्ने सपना, सपनामा नै सीमित बन्यो ।´ उनले भने । अब जग्गा नगरले दियो, घर बनाउन छोराहरूलाई भन्छु ।´ 

वडा न.२ कै चतुरमाया परियार त लालपुर्जा हातमा परेपछि निक्कैबेर भावुक भइन । उमेरले ६९ वर्ष पुगेकी परियार छोराछोरी भएतापनी एक्लिएको अनुभूति भएतापनी नगरले जग्गा दिएर सहारा प्रदान गरेको वताईन । 

`एउटा छाप्रो बनाउँछु अनि तरकारी लगाएर भएपनि अब जिविकोपार्जन गर्छु ।´ परियारले भनिन । 

अझ सोममाया लामिछानेको त आफ्नो जग्गा नहुदाँ  लामो समयदेखि कोठामा बस्दै आएकी थिइन । घरवासको लागी आफ्नै जग्गा थिएन । बनिबुतो गरेर जिविकोपार्जन गर्दै आएकी उनको श्रीमान वर्षौ पहिला बितेका थिए । 

`घरबास नहुदाँका पीडा मलाई जति अरु कसलाई थाहा होला र ।´ सोममायाले खुसी हुँदै भनिन । `कमसेकम भूमि आयोग र नगरले हाम्रो पीडालाई थोरै भएपनि मलम लगाउने प्रयास गरेको छ ।´

उनीहरू जस्तै बर्दिवास-२ स्थित २५ नम्बर बहादुर गन्ज ४ घ कित्ता न.३२ वाट प्रति घरधुरी १ कठ्ठाका दरले पहिलो चरणमा लालपुर्जा पाउने ५३ घर परिवारको उस्तै खुसी छ । जग्गा पाएपछि उनीहरूले घरवास बनाउने मात्र योजना बनाएका छैनन् तरकारी तथा अन्य उत्पादन गरेर व्यवसायिक बन्ने समेत सपना बुनेका छन ।

पहिलो चरणमा परेका ६० आवेदन मध्य प्रक्रिया पूरा भएको ५७ जना पूर्ण भुमिहिनलाई जग्गा उपलब्ध गराउने निर्णय गर्दै राष्ट्रिय भूमि आयोग महोत्तरीले २२ मंसिरमा हकदाबीको लागी नामावली
प्रकाशन गरेको थियो ।

त्यसमध्ये ३ जनाको नाममा उजुरी परेपछि २९ मंसिरमा आयोगले ५३ जनालाई लालपुर्जा दिने निर्णय गरेको भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिए ।

सोहीअनुसार आज ५३ जना भुमिहिनलाई लालपुर्जा वितरण गरिएको अध्यक्ष गोलेको भनाई छ । अन्य भुमिहिनको नाममा छानविन भैइरहेको पनि उनले बताए

६० जना मध्ये  कसैको नाममा जग्गा देखिएको, कसैको नाममा उजुरी परेको हुनाले भूमि आयोगले छानविनको लागी ३ जनाको विज्ञ सदस्य संयोजकत्वमा समिति बनाएको छ । समितिले पेश गरेको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडि बढाइने भूमि आयोगले जनाएको छ ।

यता आफ्नै  कार्याकालमा नगरभित्र रहेका कसैलाई भूमिहीन हुन नदिने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले बताए । अव्यवस्थित बसोवासीको समेत काम तिव्रगतिमा गरेको बताउँदै कसैलाई पनि निराश हुने वातावरण सिर्जना हुन नदिने प्रमुख क्षेत्रीको प्रतिबद्धता छ ।