बुटवलमा ७ फिट अग्लो पृथ्वीनारायण शाहको शालिक अनावरण

बुटवलमा ७ फिट अग्लो पृथ्वीनारायण शाहको शालिक अनावरण


बुटवल ।
बुटवल बेलहिया सडकखण्डमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ।

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार उक्त शालिक अनावरण गरिएको हो।

राप्रपाका स्थानीय नेता रूपसिंह थापा, निलम अधिकारी लगायतको अगुवाइमा बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नम्बर १० राजमार्ग चौराहदेखि दक्षिणतर्फ सडकको हरियाली क्षेत्रमा शालिक निर्माण गरिएको थियो।

थापाको अगुवाइमा गत पुस २७ गते शाहको पूर्ण कदको शालिकको शिलान्यास गरिएको थियो। बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बलु पुनले शिलान्यास गरेको उक्त शालिकको अनावरण भने थापाले गरेका हुन्।

पछिल्लो समयमा राज्यका नेतृत्वमा पुगेकाहरूले इतिहास मेट्दै जाँदा नयाँ पुस्ता इतिहास जान्नबाट विमुख हुने गरेकाले नयाँ पुस्ताले इतिहासबारे जानकारी लिन सकुन् भन्ने उद्देश्यले सडक किनारमा शालिक निर्माण गरिएको थापाले बताए।

करिब १७ लाख रुपैयाँको लागतमा मूर्तिकार राजु तुलाधरले उक्त शालिक निर्माण गरेको थापाले जानकारी दिए।

शालिक निर्माणको लागि बुटवल उपमहानगरपालिकाले ५ लाख र वडा नम्बर १० ले ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको थापाले जानकारी दिए। उनका अनुसार बाँकी रकम भने स्थानीय पृथ्वीनारायण मार्गका बासिन्दा र सहयोग दाताहरूबाट संकलन गरिएको थियो। ढलोटबाट निर्माण गरिएको उक्त शालिक सात फिट उचाइँको छ।