राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ निर्माण सुरु

राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ निर्माण सुरु


म्याग्दी ।

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ (बालुवा थिग्राउने पोखरी) निर्माण सुरु भएको छ ।

राहुघाटको प्रवर्द्धक प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर बनाउन थालिएको हो ।

झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात मिटर अग्लो र पाँच मिटर फराकिलो ‘अण्डर सुलुस’बाट खोला डाइभर्सन गरेर दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन थालिएको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिए।

विसं २०७४ मङ्सिरमा रु छ अर्बमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोशियटले हालसम्म ६५ प्रतिशत काम गरेको प्रवर्द्धक कम्पनी रघुुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । आयोजनाको ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।

सुरुङ ९० प्रतिशत र विद्युत्गृह निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । छ किलोमिटर दुई सय मिटर सुरुङमध्ये पाँच किमी छ सय मिटर सुरुङ निर्माण सकिएको छ । सुरुङबाट आउने पानीलाई रघुगङ्गा–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई ‘फिनिसिङ’ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण सकिएको छ । विद्युत्गृह निर्माणस्थलबाट ‘भर्टिकल प्रेसर साफ्ट’सँग जोड्ने तीन सय २९ मिटर ‘वटम प्रेसर साफ्ट’को सुरुङ यसअघि नै जोडिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये चार सय ५० मिटर सुरुङ निर्माण सकिएको छ ।

विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ ।