५ सय वर्ष पहिले पहिचान भएको थासाङको ताल र गुफा नयाँ गन्तब्य

५ सय वर्ष पहिले पहिचान भएको थासाङको ताल र गुफा नयाँ गन्तब्य


default

म्याग्दी ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् ।

मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र पर्यटकीय स्थल हुुन् ।

सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुस्ताङमा अन्य थुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् ।

स्थलमार्गबाट मुुस्ताङ जिल्ला भित्रने प्रवेश बिन्दुुमा रहेको थासाङ गाउँपालिका ओझेलमा परेका पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण र प्रर्वद्धनमा जुटेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयको ३ करोड बढी लागतमा थासाङको ३ वटा तालको संरक्षणका साथै ऐतिहासिक र धार्मिक सम्भावनायुक्त गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माण भएको छ ।

गुरुसाङवो गुफा, सेकुङ, भुतर्छो ताल थासाङ गाउँपालिकाको वडा नं २ र टिटी ताल वडा नं ५ मा अवस्थित छ् । मुस्ताङमा पर्यटकको बसाई लम्बाउने उद्देश्यले गुफामा पूर्वाधार निर्माण र ताल संरक्षण गरेर नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले बताउए। “सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका छन्,” उनले भने“सडक निर्माणसँगै छोटिएको पदमार्ग र पर्यटकको बसाई लम्बाउन नयाँ गन्तब्य पहिचानसँगै पूर्वाधार निर्माणमा जुटेका छौ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा २ करोड ९९ लाख ९७ हजार १२६ लगानीमा पूर्वाधार निर्माण भएको हो । पछिल्लो पटक थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखराको १० लाख लागत साझेदारीमा थप पूर्वाधार निर्माण भएको छ ।

पहाडको बीचमा रहेको गुरुसाङवो गुफामा पुग्ने २८६ मिटर रेलिङ र सिंढीसहितको पदमार्ग, १९१ मिटर रिटेनिङ पर्खाल, दुई कोठे पक्की शौचालय निर्माण भएको छ । विभिन्न आकृतिका दृश्यावलोकन गर्न सकिने गुरुसाङ्वो गुफामा वौद्ध धर्म गुरुहरुले तपस्या गरेको स्थानीय इन्द्रसिंह शेरचनले बताए ।

बेनी–जोमसोम सडकको लाजुङ र बोक्सीखोलादेखि नाउरीकोटसम्म गाडी र त्यहाँदेखि एक घण्टा पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीमा रहेको पहाडको बीच भागमा रहेको गुरुसाङवो गुफामा पुगिन्छ ।

बेनी–जोमसोम सडकको ताङछरदेखि सेकुङ हुँदै भुतर्छो ताल जोड्ने ३ किलोमिटर ५१० मिटर सडक निर्माण भएको थासाङ गाउँपालिकाका इञ्जिनीयर विष्णु बास्तोलाले बताए । गोलो आकारको सेकुङ तालको वरपर ढुङ्गा बिछ्याएर १९१ मिटर पैदलमार्ग, १२४.५ मिटर रिटेनिङ पर्खाल र दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण भएको छ । भुतर्छो तालमा २६.५ मिटर रिटेनिङ पर्खाल, १६० मिटर पैदलमार्ग र एउटा दुई कोठे पक्की शौचालय निर्माण भएको छ । करिब ३० मिनेटको अवधिमा सेकुङ र भुतर्छो तालको यात्रा गर्न सकिन्छ । २ वटै तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ ।

समुन्द्री सतहदेखि २ हजार ६८३ मिटरको उचाइमा सल्ला र धुपीका रुखहरु रहेको जङ्गलको बीचमा अवस्थित भुर्छतो तालको लम्बाई करिब ५ सय मिटर, चौडाई ५० मिटर र गहिराई पाँच मिटर भएको अनुमान छ । थकाली भाषामा (पुच्छोर) भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो ।

सुख्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ । करिब १५० मिटर लम्बाई र २० मिटर चौडाई रहेको सेकोङ ताल समुन्द्री सतहदेखि २ हजार ७२५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौंरी, भेडाबाख्रा र गाईभैंसीको चरन खर्क छ ।

सेकुङ र भुतर्छो तालदेखि करिब एक घण्टा ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने टिटी ताल चराहरुको बासस्थान हो । १८६ प्रजाति चराको बासस्थान रहेको टिटी तालमा ३ प्रजातिका हाँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

बेनी–जोमसोम सडकको छाक्ताङदेखि पूर्वतर्फ कालिगण्डकी नदी पारी ३ किलोमिटर पैदल यात्रा गरेर पुगिने टिटी तालमा एक वटा २ कोठे पक्की शौचालय र ताल वरपर ४७२ मिटर पदमार्ग निर्माण भएको छ । पर्यटकीय पूर्वाधार निर्माणका लागि कुल ४ करोड ८० लाख २१हजार २२४ लागत अनुमान गरिएकामा मुक्तिनाथ महादेव जे.भी. पोखराले ३ करोड ९९ लाख ९७ हजार १२६ मा ठेक्का लिएको इञ्जिनीयर बास्तोलाले बताए । उनका अनुसार योजना निर्माणमा थासाङ गाउँपालिकाले ९१ लाख र पर्यटन मन्त्रालयले २ करोड ८ लाख ९७ हजार १२७ भुक्तानी गरेका छन् ।

समुन्द्री सतहदेखि २६ सय ७९ मिटर उचाइमा रहेको टिटी तालमा पर्यटन वोर्ड पोखरा र थासाङ गाउँपालिकाको ५÷५ लाख लागत साझेदारीमा २ वटा विश्रामस्थल निर्माण, १६ वटा बेञ्च, डस्टबिन राखिएको र फोहोर व्यवस्थापन गर्ने खाडल खनिएको छ । यी तालहरुमा आकाश खुलेको अवस्थामा धवलागिरि र निलगिरि हिमालको छाँया देखिन्छ । खुल्ला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो ।

ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताए । “सेकुङ, भुर्छतो, टिटी ताल र गुरुसाङवो गुफा मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएका छन्,” उनले भने “संरक्षण, पूर्वाधार निर्माण र प्रर्वद्धन गरेर थासाङको ताल र गुफालाई मुस्ताङ भित्रने पर्यटक भुलाउने थलोका रुपमा विकास गर्न प्रयास थालिएको हो ।”

प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि सुनसान थियो । थासाङका ताल भ्रमणमा क्रममा हिमाल, जङ्गल र एकान्त वातावरणका साथै वन्यजन्तु र पंक्षीहरुको पनि अवलोकन गर्न सकिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका गिता गुरुङले बताए । “ताल, हिमाल, वनजगल, वन्यजन्तु र पंक्षीहरुको एकै पटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुश भयो” उनले भने ।

सेकुङ र भुर्छतो ताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ । ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैंसी, भेडाबाख्रा र चौंरी गोठ रहन्छन् ।

चलचित्र र गीतका म्युजिक भिडियो छायाङ्कनका लागि यो ताल ‘भर्जिन’स्थल बन्न सक्ने सम्भावना रहेको प्रतिनिधिसभाको पूर्व सदस्य प्रेमप्रसाद तुलाचनले बताए । “ढलेका रुख र बाढीले ताल पुरिंदै गएको थियो,” उनले भने “घेरबार पर्खाल, पदमार्ग र शौचालय निर्माणपछि पर्यटकलाई सहजताका साथै संरक्षण, सफा भएको छ ।” नर्साङ गुम्बा, थकाली समुदायको उद्गम स्थल कोवाङ, नाउरीकोट, गुरुसाङवो गुफा, भुर्छतो, सेकुङ, टिटि ताल, लेते र धवलागिरी आईसफललाई पर्यटकीय गन्तब्य बनाउने उद्देश्य सहित पूर्वाधार निर्माण गरिएको पुर्व सांसद तुलाचनले बताए।

नजिकैको बस्ती कोवाङ र लेतेदेखि डेढ घण्टा पैदल हिडेपछि तालमा पुग्न सकिन्छ । सडकमा सवारी साधन तथा पदमार्गमा पैदल हिडेर तालमा पुग्ने विकल्प छ । टिटी ताल परिसरमा बस्ती छ । सेकुङ, भुर्तछोे ताल र गुरुसाङवो गुफा नजिकै बस्ती छैनन् ।

एकान्त वातावरण छ । धवलागिरि हिमालको पूर्वी मोहोडबाट निरन्तर खसिरहने हिउँपहिरो नजिकबाट अवलोकन गर्न सकिने आइसफलमा पुग्न कोवाङबाट ५ घण्टा पैदल हिड्नुपर्छ । आइसफल पुग्ने यो छोटो पदमार्ग हो ।

सेकोङ तालदेखि धवलागिरि आइसफलसम्म जाने पदमार्ग, क्याम्पिङ साइट, ताल संरक्षण गरी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष शेरचनले बताए । धौलागिरि आइसफल हुुदै म्याग्दी निस्कने पदमार्ग सञ्चालनको तयारी भएको छ ।

सेकोङ, भुर्छतो र गुरुसाङवो गुफाको नजिकैको बस्ती नाउरीकोट प्राकृतिक हिसाबले सुन्दर बस्ती हो । नाउरीकोटको फेदी कोवाङ गाउँपालिकाको केन्द्र हो । बेनी–जोमसोम सडकले छोएको कोवाङलाई नेपालका अल्पसङ्ख्यक थकाली समुदायको उद्गमस्थल मानिन्छ । कोवाङमा नर्साङ गुम्बा रहेको छ ।

पूर्वमा निलगिरि, अन्नपूर्ण र पश्चिममा धवलागिरि, टुकुचे हिमाल दन्तलहर झैं देखिने नाउरीकोटबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । फापर, मकै, गहुँ खेती हुने समथर फाँटमा रहेको नाउरीकोटबाट धौलागिरि हिमालको चुचुरोबाट खस्ने हिउँ थुप्रिएर बनेको आइसफल हेर्न पाउनु अर्को विशेषता हो ।

अल्पसङ्ख्यक थकाली समुदायको बसोबास रहेको नाउरीकोटबाट बर्खामा देखिने हरिया पाखामा दूधका धारा झैँ गरी बग्ने झरना र छहरा हिउँद्मा सुक्दा सेताम्मे हिउँले छोपिन्छ । बसन्त ऋतुमा पृष्ठभूमिमा पाखाभरि लालीगुराँसले रङ्गिन्छ । भदौ, असोज महिनामा वरपरका बारीमा लहलह फापर फुल्दा वातावरण रमणीय बन्ने नाउरीकोटका नरसाम्बो गौचनले बताए ।

कोवाङदेखि करिब २० मिनेट पैदल र १० मिनेट सवारी साधनमा यात्रा गरेर पुगिने नाउरीकोटका वरपर घुम्नलायक धेरै ठाउँ छन् । भुर्तछो र सेकुङ ताल, गुरुसाम्पुक गुफा र धौलागिरि आइसफल नाउरीकोट भित्रने पर्यटकका लागि घुम्ने ठाउँ हुन् । थकाली समुदायको जीवनशैली, संस्कार, संस्कृति रहनसहन पनि यहाँको थप आकर्षण हो ।

नाउरीकोटमा पर्यटकको सुविधाका लागि होटल, लज तथा होमस्टेको सुविधा छ । नजिकैको जंगलमा पाइने वन्यजन्तु, पंक्षी, जडीबुटी, वनपैदावार, भेडा, चौंरीका गोठ थप आकर्षण हो । वौद्ध धर्मगुरुहरुले वुद्धत्व प्राप्त गर्न तपस्या बसेको करिब ३० मिटर लामो गुरुसाङवो गुफाभित्र बाघको पञ्जा, हात्तीको सुँड, चौंरीको खुर, गाईभैंसीको कल्चौरा, कछुवाको मुखलगायतको आकृतिहरु देख्न सकिन्छ ।

५ सय वर्ष पहिले पहिचान भएको स–साना तालहरु रहेका यो गुफाको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा स्थानीय तहका जनप्रतिनिधि र समुदायले जोड दिएका छन् । रमणीय, धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण थासाङको तीनवटा ताल र गुरुसाङवो गुफा स्थानीयको आयआर्जन वृद्धि, रोजगारी सिर्जनासँगै भ्रमणमा आउने पर्यटकको बसाई लम्बाउने आधार बनेको छ ।

सडकले पुराना पदमार्गसँगै पर्यटकको बसाई छोटिएको अवस्थामा पुराना गन्तब्यको संरक्षणसँगै नयाँ गन्तब्यको पहिचान, पूर्वाधार निर्माण र प्रर्वद्धनमा जोड दिनुपर्ने देखिन्छ ।