चौधरी ग्रुपले तिर्‍यो १६ अर्ब कर

चौधरी ग्रुपले तिर्‍यो १६ अर्ब कर


काठमाडौँ ।

चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको छ ।

यो सरकारको कुल राजश्वमा १.८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको दाबी गरिएको छ ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको जनाएको छ । यद्यपि, राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कमी आएको छ । उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रुपैयाँ कर तिरेको थियो ।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।