इमाडोलमा इनारमा खसेकी महिलाको साढे दुई घण्टापछि उद्धार

इमाडोलमा इनारमा खसेकी महिलाको साढे दुई घण्टापछि उद्धार


काठमाडौं ।

ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ ।

उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ ।

दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।

ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले उनलाई उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको जानकारी दिए । ‘उद्धार गर्न करिब साढे दुई घण्टा लाग्यो, उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ,’ डीएसपी जोशीले भने ।

उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो ।