काठमाडौं महानगरले ‘संस्थागत स्वमूल्यांकन’ मा आफैंलाई दियाे ७८.५ अंक

काठमाडौं महानगरले ‘संस्थागत स्वमूल्यांकन’ मा आफैंलाई दियाे ७८.५ अंक


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ‘संस्थागत स्वमूल्यांकन’ मा आफैंलाई ७८.५ अंक दिएको छ।

आइतबार बसेको नगर कार्यपालिका बैठकमा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले स्वमूल्यांकन सूचक, सूचकहरूको पूर्णाङ्क र प्राप्त अंकसम्बन्धी विवरण पेस गरेका थिए। आफूले आफैंलाई ७८.५ दिएको अंकलाई बैठकले अनुमोदन गरेको हो।

आर्थिक वर्ष २०७७/७८ मा ६०.७५ अंक प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक वर्ष २०७८/७९ मा ५७.२५ मा पुगेको थियो। विगतको अवस्थामा सुधार गर्दै गएको वर्ष (२०७९/०८०) मा ७८.५ अंक प्राप्त गरेको महानगरपालिकाको दाबी छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’ अनुसार उक्त मूल्यांकन गरेको महानगरपालिकाले जनाएको छ।

महानगरले समग्र स्थितिमा २१, प्रक्रियागत स्थितिमा ३४ र परिमाणात्मक स्थितिमा ४५ प्रतिशत अंक भार राखेको छ। यसलाई १० वटा विषय क्षेत्रमा वर्गीकरण गरिएको छ।