सोमबार मृत भेटिएका सहनीकी श्रीमतीको पनि मृत्यु

सोमबार मृत भेटिएका सहनीकी श्रीमतीको पनि मृत्यु


धनुषा ।

धनुषामा सोमबार मृत भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका-३ महदैयाका २२ वर्षीय राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ ।

सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएकाे छ ।

राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए ।

प्रहरीका अनुसार सोमबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए ।

ज५प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर हिँडेका राधे बिहानी ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए ।

मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइते भएकी अस्मितलाई भने अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले मातइतीमा पुर्‍याइदिएका थिए ।

माइत पक्षले अस्मितालाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्‍याएर भर्ना गरेका थिए ।

मृत भेटिएको ठाउँमा त्यहाँ मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको थियो ।

राधेले चलाउँदा दुर्घटना भएको मोटरसाइकल भने अन्य साथीको रहेको खुलेको छ ।

राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएकाे छ ।