सहकारी बैंकले तुलसी सहकारीको सम्पत्ति लिलामीमा राख्यो

सहकारी बैंकले तुलसी सहकारीको सम्पत्ति लिलामीमा राख्यो


काठमाडौं ।

राष्ट्रिय सहकारी बैंकले विराटनगरको तुलसी सहकारी संस्थाको नाममा रहेको सम्पत्ति लिलामीको गर्ने भएको छ ।

कर्जा नतिरेपछि तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता कायम रहेको मोरङ साविकको झापा बैजनाथपुर गाविस–१ को कित्ता नम्बर ७३२ को ५०८.७४ वर्गमिटर र कित्ता नम्बर ७३३ को २९०१.२६ वर्गमिटर जग्गा लिलामीमा निकालेको हो ।

यस्तै मोरङ साविकको झोराहाट गाविस–६ को कित्ता नम्बर ५८७ को १३५५.६० वर्गमिटर जग्गा र त्यसले चर्चेको लिगलगापात समेत लिलामीमा निकालेको हो ।

बैंकले तुलसी बहुमुखी सहकारीकै नाममा मालपोत कार्यालय दमक झापामा दर्ता श्रेस्ता कायम रहेको झापा गौरादह नगरपालिका–१ को कित्ता नम्बर २५२४ को ४३९३.६२ वर्गमिटर र कित्ता नम्बर २५२६ को ५५६५ वर्गमिटर जग्गा र त्यसले चर्चेको लिगलगापात समेत लिलामीमा निकालेको छ ।

सहकारीले संस्थाको मोरङ र झापाको सम्पत्ति धितो राखेर राष्ट्रिय सहकारीबाट करिब दुई वर्ष अगाडि १० करोड रुपैयाँ चालू पूँजी कर्जा लिएको थियो । उक्त कर्जाको साँवा र ब्याज भुक्तानी पनि भुक्तानी नभएको र नवीकरण पनि नभएपछि बैंकले धितो लिलाम गरेर कर्जा असुल गर्न लागेको जनाएको छ ।