एडिबी परियोजना : सिद्धार्थनगरलाई टेन्डर खाेल्न अनुमति

एडिबी परियोजना : सिद्धार्थनगरलाई टेन्डर खाेल्न अनुमति


लुम्बिनी ।

एसियाली विकास बैंक (एडिबी) को ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (सहित ७ पालिका) मा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमा बुधबार सम्झौता भएको छ ।

सिद्धार्थनगरमा परियोजना सञ्चालनका लागि पहिलो नेपाल सरकार (अर्थ मन्त्रालय) र एडिबी, दोस्रो नेपाल सरकार, सिद्धार्थनगर र एडिबी तथा तेस्रो सिद्धार्थनगर, सहरी विकास मन्त्रालय (आयोजना कार्यान्वयन एकाइ) र नगर विकास कोषबीच गरी ३ वटा विभिन्न सम्झौतापत्रमा दस्तखत भएको हो ।

यो परियोजना सञ्चालनका लागि नेपाल सरकारले एडिबीसँग ६ अर्ब बराबरको सहलियतपूर्ण ऋण लिएको छ । उक्त ऋण पालिकाहरूलाई अनुदानका रूपमा उपलब्ध गराइनेछ ।

परियोजना सञ्चालनका लागि नेपाल सरकारबाट ७५ प्रतिशत अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिकाकाे आन्तरिक स्रोतबाट सिद्धार्थनगरमा २५ किलोमिटरभन्दा बढी नालासहितको सडक तथा पर्यटन प्रवर्द्धनका लागि डण्डा नदीलाई करिडोरका रूपमा विकास गर्न सम्झौता भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै परियोजना सञ्चालन हुने ७ पालिकामध्ये सबैभन्दा पहिला सिद्धार्थनगर नगरपालिकालाई बोलपत्र आह्वान गर्न सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना कार्यान्वयन एकाइले अनुमति प्रदान गरेको उनले बताए ।

७ पालिकामध्ये सिद्धार्थनगरको विस्तृत परियोजना रिपोर्ट एडिबीले स्वीकृत गरेकाे पत्र सहरी विकास मन्त्रालयलाई दिएपश्चात् एकाइ कार्यालयले नगरपालिकालाई ठेक्का आह्वान गर्न अनुमति दिएको हो ।

‘सम्झौतासँगै हामीले बोलपत्र आह्वानका लागि अनुमति पाइसकेका छौँ,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘अब अध्ययन गरेर एक हप्ताभित्रै बोलपत्रको सूचना जारी गर्छौँ ।’ उनले उक्त परियोजना नगरको मुहार फेर्नका लागि कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गरे ।

नगरमा एडिबीअन्तर्गतको परियोजनामात्रै नभई अन्य ठुल्ठुला परियोजना ल्याउन पनि प्रयास भइरहेको नगर प्रमुख खाँले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले परियोजनाले नगरबासी लाभान्वित हुनुका साथै पर्यटन प्रवर्द्धनसहित अन्य क्षेत्रमा समेत टेवा पुग्ने बताइन् ।

बैंकको बोर्ड बैठकले सहरी लचिलोपन र जीवनयापन सुधार परियोजनाअन्तर्गत सिद्धार्थनगरमा योजना सञ्चालनका लागि नगरपालिकाबाट प्रस्तावित योजनाहरू गत मंसिर महिनामा स्वीकृत गरेको थियो ।

परियोजनाअन्तर्गत नगरपालिका क्षेत्रमा ‘इडब्लुसिडी’ मानकसहितको फुटपाथ, नाला, साइकल लेन, सडक निर्माण र डण्डा नदीलाई करिडोरका रूपमा विकास गरिनेछ । यसले हरियाली पार्क र खुला ठाउँसहित सार्वजनिक क्षेत्रको समेत सौन्दर्यीकरण गर्नेछ । डण्डा नदीको किनारका जग्गाहरूमा आकर्षक पूर्वाधार निर्माण गरिनेछ ।

बालबालिका, महिला, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरूको आवश्यकतालाई समेत मध्यनजर गर्दै परियोजनाअन्तर्गतका विकासका कार्यहरू हुने सिद्धार्थनगर नगरपालिकाका योजना प्रमुख इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।

सिद्धार्थनगरमा परियोजना कार्यान्वयन गर्ने क्रममा उत्कृष्ट परिणामअनुसार थप लगानी भित्रिने अवस्थासमेत रहेको नगरपालिका कार्यालयले जनाएको छ । उक्त परियोजना सिद्धार्थनगर नगरपालिकासँगै पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक, सैनामैना, तिलोत्तमा, र देवदह नगरपालिकामा सञ्चालन हुनेछ ।