लिजा सार्वजनिक गर्ने बाँकेकै पहिलो पालिका बन्यो राप्तीसोनारी

लिजा सार्वजनिक गर्ने बाँकेकै पहिलो पालिका बन्यो राप्तीसोनारी


बाँके ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) सार्वजनिक गरेको छ । राप्तीसोनारी लिजा सार्वजनिक गर्ने बाँकेकै पहिलो पालिका बनेको छ ।

माघ ७ गतेभित्र लिजा सार्वजनिक गर्नुपर्ने समयसीमा छ । राप्तीसोनारी गाउँपालिकाले लिजा सार्वजनिक गर्दै सुधार गरेको छ । आर्थिक वर्ष २०७९–८० मा ७४।२५ प्रतिशत अङ्क ल्याउन सफल भएको छ । पछिल्लो दुई कार्यकालमा राप्तीसोनारीले लिजामा छलाङ मारेको छ ।

गत आर्थिक वर्ष २०७८–७९ मा ६७।२५ प्रतिशत अङ्क हासिल गरेको थियो । २०७७–७८ मा केवल ४९ अङ्क मात्रै हासिल गरेको राप्तीसोनारीले पछिल्ला दुई आर्थिक वर्षमा भने लिजामा सुधारको छलाङ मारेको हो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले यो स्वाभाविक प्रक्रिया भएको बताए । विधि र पद्धतिमा स्थानीय सरकार चलिरहेको सन्देशका रुपमा बुझ्न पनि उनले आग्रह गरे । ‘हाम्रो काम विधिसम्मत र नीतिसम्मत गर्ने हो उनले भने, ‘पालिकालाई विधि र पद्धतिबाट चलाउँदै लगिएको छ । त्यसकै परिणाम हो । यो स्वभाविक हो ।’

राप्तीसोनारी गाउँपालिकाको दोस्रो कार्यकालका रुपमा पौडेल नेतृत्वको जनप्रनिधि आएपछि पालिका एउटा लयमा हिंड्न थालेको छ । चार दर्जनभन्दा बढी कानुन निर्माण भएका छन् । हालै सम्पन्न अधिवेशनले थप ९ वटा ऐन र कार्यविधि पारित गरेको थियो ।

सूचना तथा प्रविधि अधिकृत जनार्दन पौडेलले लिजालाई जिल्ला समन्वय समितिले अनुमोदन गरिसकेको बताए। ‘अव केन्द्रबाट एउटा टोली आएर थप अध्ययन गर्नेछ’ उनले भने, ‘पछिल्ला दुई आर्थिक वर्षमा लिजामा राम्रो सुधार भएको छ ।’ माघ ७ गतेसम्म स्थानीय तहले लिजा सार्वजनिक गरिसक्नुपर्नेछ ।