सवारी आवागनलाई असर नपारी मुग्लिन–पोखरा सडकको काम छिटो सक्न निर्देशन

सवारी आवागनलाई असर नपारी मुग्लिन–पोखरा सडकको काम छिटो सक्न निर्देशन


पोखरा ।

संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार पृथ्वी राजमार्ग (मुग्लिन–पोखरा सडकखण्ड) विस्तारको काम निरीक्षण गरेका छन् ।

मन्त्री ज्वालाले उक्त सडकखण्डअन्तर्गत पर्ने पोखरादेखि तनहुँको मादी नदीसम्मको क्षेत्र निरीक्षण गरेका हुन् ।

सडक विस्तारको काम निरीक्षण गर्दै मन्त्री ज्वालाले सडक विस्तारमा गुणस्तरीयतासँगै सवारी साधन आवागनमा अवरोध नपुर्‍याउन ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएका छन् । सडकको दुवैतर्फ खाल्डाखुल्डी बनाएर सवारी आवागमन नै समस्या पार्ने गरी भइरहेको कामप्रति भने उनले असन्तुष्टि पोखे ।

‘सडकको दुवैतर्फ खाल्डाखुल्डी बनाएर काम गर्दा सवारी आवागनमा समस्या देखियो । सडक विस्तारको काम गर्दा एकातिरको काम क्लियर गरेरमात्रै अर्को भाग बनाउनुपर्‍यो’, मन्त्री ज्वालाले भने, ‘बाटोमा खाल्डाखुल्डी नहोस् । काम गुणस्तरीयसँगै समयमै सक्नुपर्‍यो ।’

भौतिक मन्त्री ज्वालाले पछिल्लो समय कामको गति बढेको भन्दै सन्तोष व्यक्त गरेका छन् । निरीक्षणमा मन्त्रीसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत थिए ।

गण्डकी प्रदेश राजधानीलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग चार लेन बनाउन यतिबेला विस्तारको काम भइरहेको छ ।

पोखरा–मुग्लिन खण्ड २ भागमा बाँडेर विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेका छन् ।