दोस्रो त्रैमाससम्ममा यी बैंकहरुको नाफा घट्याे

दोस्रो त्रैमाससम्ममा यी बैंकहरुको नाफा घट्याे


काठमाडौं ।

कुमारी बैंकको खुद ब्याज आम्दानी बढेको भएपनि नाफा भने घटेको छ ।

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा १४.३१ प्रतिशतले कम हो ।

बैंकको खुद ब्याज आम्दानी भने ३५.१ प्रतिशतले बढेर ५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज पनि बढ्दा यस बैंकको खुद नाफा घटेको हो । यसको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष यस बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसंगरी, बैंकको सञ्चालन नाफा ५.०८ प्रतिशतले घटेको छ । बैंकको निष्कृय कर्जा दर ३.१५ प्रतिशत विन्दुबाट ४.९७ प्रतिशतमा पुगेको छ । हाल यसको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषमा १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कुमारीको प्रतिसेयर आम्दानी १.११ रुपैयाँले घटेर ६.६१ रुपैयाँमा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १३६.८२ रुपैयाँ छ ।

यस्तै प्रभु बैंकको खुदनाफा घटेको छ ।

बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३९.९७ प्रतिशतले घटेर ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा यसको नाफा प्रभावित भएको हो । पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा २.९२ प्रतिशतले बढेर ४.९० प्रतिशत पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्ष ४२ करोड ६७ लाख ४९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब २५ करोड ७७ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ४०.५८ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा ५.७७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८५ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
प्रभु बैंकका अनुसार दोस्रो त्रैमाससम्ममा चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ ।

वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ०२ पैसाले घटेर ६ रुपैयाँ १२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ०२ पैसा छ ।

यता मुक्तिनाथ विकास बैंकको खुदनाफा घटेको छ भने खराब कर्जा बढेको छ ।

बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३२.९३ प्रतिशतले घटेर ४२ करोड १७ हजार रुपैयाँमा सीमित भएको छ । बैंककले अघिल्लो वर्षको यसैअवधिमा यस ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसंगरी एक वर्षको अवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा प्राभवित भएको बैंकको भनाइ छ । खराब कर्जा १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ ।

गत वर्ष ४४ करोड १७ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ७८ करोड ६३ लाख २२ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँमा आएको छ । खुद ब्याज आम्दानी भने २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८५ पैसाले घटेर ११ रुपैयाँ ९२ पैसामा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । वितरणयोग्य नाफा ३१ करोड ७२ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ ।

यस्तै ग्लोबल आइएमई बैंकको खुद नाफा घटेको छ भने खराब कर्जा बढेको छ । बैंककोचालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २६.६० प्रतिशतले घटेको छ । उक्त नाफा घटेर २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँमा सीमित भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकका अनुसार यसअवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकोले खुद नाफा प्रभावित भएको हो । जसअनुसार एक वर्षको अवधिमा खराब कर्जा १.७६ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा १ अर्ब १२ करोड ९१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४ अर्ब १३ करोड ६० लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी भने ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड ७० लाख ७५ हजार रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसाले घटेर ११ रुपैयाँ ३१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा छ ।

यस्तै एनएमबि बैंकको नाफामा गिरावट आएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ भने खराब कर्जा बढेको छ ।

खुद ब्याज आम्दानी १२ दशमलव ३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडको खराब कर्जा अनुपात बढेर कमाएको नाफामध्ये ठूलो रकम इम्पेयरमेन्ट चार्जको रुपमा प्रभिजन गर्नुपर्दा वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको छ ।  बैंकले समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्जको रुपमा २ अर्ब ८६ करोड रुपैयाँ प्रभिजन गर्नुपरेको छ ।

अघिल्लो वर्षको यही अवधिमा यस्तो प्रभिजन ६० करोड ८३ लाखमा सीमित थियो । अघिल्लो वर्षको यही अवधिसम्म ३.७१ प्रतिशतको सीमित खराब कर्जाको अनुपात समेत बढेर ४.७५ प्रतिशत पुगेको छ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई खराब कर्जाको अनुपात ५ प्रतिशतभित्रै राख्न पटक पटक निर्देशन दिंदै आएको छ । कुनै कम्पनीको खराब कर्जा अनुपात ५ प्रतिशत नाघेमा राष्ट्रबैंकले कारबाही गर्ने गरेको छ ।

इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा यसले बैंकको नाफा समेत नराम्ररी प्रभावित गरेको छ । समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९५ करोडले ऋणात्मक बन्न पुगेको छ। यस्तै, अघिल्लो वर्षको यही अवधिसम्म २ अर्बभन्दा बढी रहेको खूद नाफा घटेर यो वर्ष १ अर्ब ८० करोडमा सीमित बन्न पुगेको छ ।  अघिल्लो वर्ष २ अर्ब ९८ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा भने बढेर ३ अर्ब २ करोड माथि रहेको छ ।  बैंकले व्यापक रुपमा व्यवसाय बिस्तारमा ध्यान दिएको वित्तीय विवरणबाट देखिन्छ । फलस्वरुप खूद ब्याज आम्दानी अघिल्लो वर्ष यही अवधिसम्म ४ अर्ब १८ करोड रहेकोमा बढेर यो वर्ष ७ अर्ब ५४ करोडको उचाईमा पुगेको छ ।

नाफा घट्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि १५.६१ रुपैयाँबाट घटेर १०.५६ रुपैयाँमा सीमित बन्न पुगेको छ ।  समीक्षा अवधिसम्ममा बैंकले ३ खर्ब ८९ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्ममा ३ खर्ब ५४ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।  समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १६.६ गुणा, प्रतिसेयर नेटवर्थ १७०.७ रुपैयाँ कायम भएको छ ।

यस्तै

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २७ करोड ८० लाख खूद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा करिब ४ करोडले कम हो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४५ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यो वर्ष घटेर ३९ करोड ५७ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जको रुपमा ९ करोड ३६ लाख बढी रकम प्रभिजन गरेको छ ।
बैंकको व्यवसाय बिस्तार समेत सुस्ताएको देखिन्छ । यहीकारण अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ४ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर ८९ करोड २४ लाखमा सीमित बन्न पुगेको देखिन्छ । ब्याज आम्दानी गत वर्षभन्दा केही बढे पनि खर्च समेत त्योभन्दा धेरैले बढ्दा खूद ब्याज आम्दानीमा प्रभाव परेको देखिएको हो ।

समीक्षा अवधिमा महालक्ष्मी विकास बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३।३३ रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिको  इपीएस १५.७६ रुपैयाँ रहेको थियो । अप्ठ्यारो अवस्थामा समेत बैंकले खराब कर्जालाई भने घटाउने सफलता पाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४.५७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष ४.२१ प्रतिशतमा सीमित बन्न पुगेको हो ।

समीक्षा अवधिसम्म बैंकले ५३ अर्ब ४ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ५० करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५१ अर्ब ४९ करोड बढी निक्षेप संकलन गरी ३७ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको थियो ।  बैंकको मूल्य आम्दानी अनुपात २५.५८ गुणा, प्रतिसेयर नेटवर्थ १५४.०४ रुपैयाँ, कुल सम्पत्तिमा प्रतिफल (वार्षिकीकृत) ०.८७ प्रतिशत रहेको छ ।