बर्दिबासमा भेटियाे लाेपाेन्मुख गिद्धकाे बासस्थान, संरक्षण गर्न सराेकारवालाकाे माग

बर्दिबासमा भेटियाे लाेपाेन्मुख गिद्धकाे बासस्थान, संरक्षण गर्न सराेकारवालाकाे माग


बर्दिवास ।

महोत्तरीको उत्तरी क्षेत्र राईमण्डल डाडामा लोपोन्मुख पक्षी गिद्धको बासस्थान फेला परेको छ ।

जिल्लाको उत्तरवर्ती पालिका बर्दिवास-३ मा रहेको उच्च ठाउँ राईमण्डल वरपर गिद्धको प्राकृतिक बासस्थान फेला परेको हो ।

शनिबार बर्दिवास उद्याेग वाणिज्य संघले आयोजना गरेको पदयात्रामा सहभागीहरूले उक्त बासस्थानको अवलोकन गरेका छन् ।

एक अध्ययनअनुसार सन् १९८० ताका नेपालमा ५ देखि १० लाखको संख्यामा गिद्ध थिए । तर, २००५ देखि २०११ सम्मको तथ्यांकले गिद्धको सङ्ख्या ९० प्रतिशतभन्दा पनि बढीले घटेको देखाएको थियो । यसैलाई आधार मान्ने हो भने नेपालमा यसको संख्या निकै न्यून छ ।

तर, राईमण्डल वरपर भिमडाँडा, सोलीघोप्टे, सेतो भिर जस्ता ठाउँमा देखिएका हजारौँ गिद्धहरूको दृश्यले ठुलो बासस्थान रहेको अनुमान गरिएको छ । पदयात्रामा सहभागीहरूले स्थानीय सरकारले तत्काल गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

नेपालका केही ठाउँमा गिद्धको प्रजनन केन्द्र र गिद्ध रेस्टुरेन्टसमेत खोलेर यसकाे संरक्षणका लागि सफल अभ्यासहरू भएको बताउँदै स्थानीय लोसपाका नेता चेतकुमार थापा राईमण्डल गिद्ध अध्ययन केन्द्र बन्न सक्ने महत्वपूर्ण आधार भएको बताउँछन् ।

नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९-२०१३’ को सफल कार्यान्वयनपश्चात् नयाँ कार्ययोजना (सन् २०१५-२०१९) लागू गरिएको थियो । यसका लागि स्थानीय सरकार संघ र प्रदेश सरकारसंँग नजिक भएर काम गरे राईमण्डल पर्यटकीय केन्द्रका रूपमा समेत विकास हुन सक्ने कतिपय विज्ञको सुझाव छ ।

राईमण्डल र भप्सी वरपरका स्थानीय बासिन्दा बिहानको समयमा हजारौँको संख्यामा गिद्धहरू आकाशमा देखिने बताउँछन् । ‘२ देखि ३ प्रकारका गिद्धहरू आकाशमा बाक्लै देखिन्छन् ।’ स्थानीय बलबहादुरले भने, ‘विशेष गरी सेतो भिर वरपर नै उनीहरूको बासस्थान रहेको देखिन्छ ।’

यो पक्षी शिकारी पक्षी भए पनि आफैँ सिकार गर्दैन । मरेका सिनो र बासी मासु आहारा बनाउने गर्छ । बासस्थानको अभाव, घरपालुवा जनावरहरूमा डाइक्लोफिनेक जस्ता एन्टिबायोटिक औषधिको प्रयोगलगायत कारणले यो अहिले विश्वबाट लोप हुने स्थितिमा रहेको विज्ञहरू बताउँछन् ।

धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम सास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बतियन मूलका लामा समुदायले त आफन्तको शव गिद्धलाई खुवाउँदा मृतकको आत्मा स्वर्ग जाने विश्वास गर्छन् ।

यसर्थ गिद्ध खाद्य शृंखलाकाे संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक त हो नै, समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहरका रूपमा पनि लिइन्छ ।

त्यसैले राईमण्डललाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरी स्थानीय सरकारले यसलाई पर्यटन विकास केन्द्रका रूपमा विकास गर्नुपर्ने उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्का बताउँछन् । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले राईमण्डलमा देखिएको गिद्धको बासस्थानबारे ध्यानाकर्षण जनाएका छन् ।

सरोकारवालाहरूसँग छलफल अगाडि बढाएर यस क्षेत्रको संरक्षणका लागि कार्ययोजना बनाउने बताए ।