प्रधानाध्यापक साहलाई १३ लाख बिगाे र ३ वर्ष कैद सजायको फैसला

प्रधानाध्यापक साहलाई १३ लाख बिगाे र ३ वर्ष कैद सजायको फैसला


काठमाडौं ।

विशेष अदालत काठमाडौँले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई १३ लाख २२ हजार रुपैयाँ बिगो र उत्तिनै जरिवानासहित तीन वर्ष कैद सजाय ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले साहलाई सजाय निर्धारण गरेको हो। अदालतले साहविरुद्ध पुस २४ मा भ्रष्टाचार मुद्दामा कसुर ठहर गरेको थियो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार विद्यालयका लागि निकासा भएको रकम हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा दर्ता गरेको थियो।

अख्तियारले दर्ता गरेका चार वटा फरक मुद्दामा दोषी ठहर गरेको हो। यस अघि तीन मुद्दामा उनलाई करिब १६ लाख बिगो र त्यति नै जरिवानाको फैसला भएको थियो।