बर्दिबास मेडिकल बन्ने बाटाे खुलेपछि पूर्वमन्त्री पाेखरेललाई धन्यवादकाे ओइराे

बर्दिबास मेडिकल बन्ने बाटाे खुलेपछि पूर्वमन्त्री पाेखरेललाई धन्यवादकाे ओइराे


महाेत्तरी ।

‘बर्दिवास मेडिकल कलेज प्रस्तावित जग्गामा नै बन्न लामो समयदेखि रहेकाे अड्चन फुकुवा भएको छ ।

यसका लागि पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विशेष धन्यवाद र बधाई,’ बिहीबार बेलुका बर्दिवासका शैलेशमणि दाहालले खुसी व्यक्त गर्दै फेसबुकमा राखेको स्टाटस हो यो ।

उनले स्टाटस राखेको १५ मिनेट पनि नबित्दै मेडिकल कलेज बन्ने खुसीले उत्साहित भएका अन्य हजारौँ सर्वसाधारणले पनि पोखरेललाई फोटोसहित बधाईको ओइरो लाग्यो ।

जस लिन तँछाडमछाड गर्नेहरूले पनि पोखरेललाई नै बधाई र धन्यवाद दिन कुनै कन्जुस्याइँ गरेनन् । ३ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले बर्दिवास मेडिकल कलेज बनाउन बर्दिवास-४ माईस्थानस्थित साझेदारी वनकाे ५४.५८४ हेक्टर जमिनमा भएका १९६७ रूख हटाउने निर्णय गरेको थियो ।

कहिले अदालती प्रक्रिया त कहिले जग्गा प्राप्तिका कारण ७ वर्षदेखि विभिन्न अड्चन भाेगिरहेकाे मेडिकल कलेज पूर्ण रूपमा बन्ने बाटो खुला भएपछि नेता पोखरेलको योगदानको स्मरण गर्दै बधाई र धन्यवाद दिनभरजसो नै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो ।

पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुँदा मेडिकल कलेज निर्माणपूर्वको प्रक्रिया रफ्तारमा अगाडि बढे पनि मन्त्रीबाट हटेपछि सुस्त भएकाे थियो ।

आर्थिक वर्ष २०७३/७४ को बजेट बक्तव्यमा एक प्रदेश एक मेडिकल कलेज बनाउने सरकारले अवधारणा अगाडि बढाएपछि पोखरेल मन्त्री हुँदै जग्गा खोजबिन समिति बनेको थियो ।

पोखरेलकै पहलमा २०७३ साल असार २७ गते जग्गा खोजबिन समिति बनाएर बर्दिवासमा जग्गा पहिचान भएपछि २०७५ साल कात्तिक २० गते आयोजनाको कार्यविधि र कर्मचारी दरबन्दी स्वीकृत भयो ।

२०७५ साल फागुन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोजनाको दरबन्दी स्वीकृत गरेसँगै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले २०७६ साल वैशाख १८ गते कार्यालयको औपचारिक उद्घाटन गरेका थिए ।

२०७६ साल माघ ८ गते गुरुयोजना स्वीकृत गराउनेदेखि २०७७ साल असोज ८ गते राष्ट्रिय योजना आयोगबाट राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका रूपमा सिफारिस गराउन समेत नेता पोखरेलले नै भूमिका खेले ।

वन मन्त्रालयवाट इआइए स्वीकृत गराउनेसम्म काम सकिए पनि एक्कासि पर्यावरणविद्हरूले वन क्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ मा रिट हालेपछि १७ महिनासम्म अनिर्णयको बन्दी बन्यो ।

अदालतले गत जेठ २९ गते रिट खारेज गरेसँगै जग्गा प्राप्तिमा अड्किएको मेडिकल कलेज पूर्वाधार निर्माण प्रक्रियाको काम गत बिहीबार मन्त्रालयले प्रस्तावित ठाउँमा नै रूख काट्न स्वीकृत दिएपछि अन्तिम अड्चनसमेत फुकुवा भएको हो ।

अदालती प्रक्रियादेखि निर्माण प्रक्रियासम्म आइपुग्दा समेत मन्त्री पोखरेलले गरेको योगदानको स्मरण गर्दै स्थानीयले शनिबार धन्यवाद ज्ञापन कार्यक्रमसमेत आयोजना गरे ।

यसैबीच बर्दिवास युथ कलबले पनि पोखरेललाई सम्मान गरेको छ । बर्दिवास मेडिकल कलेजलाई निर्माण प्रक्रियासम्म ल्याउन पोखरेलले निकै ठुलो योगदान पुर्‍याएको बताउँदै उनलाई सम्मान गरेको युथ क्लबका अध्यक्ष सुरज खड्काले बताए ।

उद्याेग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले पनि सबै जना आ-आफ्नो क्षेत्रबाट लागे पनि यो अवस्थासम्म आइपुग्न माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता पोखरेलको योगदान मुख्य रहेको धारणा व्यक्त गरे ।

व्यवधान अझै बाँकी छन् : पोखरेल

बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रिया अगाडि बढे पनि अझै व्यवधानहरू बाँकी रहेको नेता पोखरेलले बताएका छन् ।

डिपिआर संशोधन गरेर शिक्षा मन्त्रालयले स्वीकृत गर्नुपर्नेदेखि अन्य धेरै कानुनी जटिलता पार गर्न जरुरी रहेको पोखरेलले बताए ।

शनिबार सर्वदलीय नेता सहभागी भएको एक कार्यक्रममा उनले मेडिकल कलेजका कानुनी चुनौतीहरू समाधान गर्न लागिपर्ने सबैलाई धन्यवाद दिए ।

नेता पोखरेलले पूर्व नगर प्रमुख विदुर कार्की, अहिलेका नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीको योगदान पनि स्मरण गरे ।

शनिबार नै दलहरूबीच छलफल गर्दै आगामी दिनमा मेडिकल कलेज स्थापनार्थ कसरी अगाडि बढ्ने भन्ने विषयमा कार्ययोजनासमेत बनेको छ ।