नक्कली आइडी बनाएर ‘प्रेमिका’को अश्लील फोटो र भिडियो पोस्ट गर्ने भट्ट पक्राउ

नक्कली आइडी बनाएर ‘प्रेमिका’को अश्लील फोटो र भिडियो पोस्ट गर्ने भट्ट पक्राउ


TIME.com stock photos

काठमाडौँ ।

सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर–२ घर भएका भीमसेन भट्ट छन् ।

काठमाडौँको तारकेश्वर नगरपालिकामा बस्दै आएका २४ वर्षीय भट्टले आफ्नै ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोप छ ।

रोजगारीको सिलसिलामा चिनजान भएकी प्रेमिकासँग मनमुटाब भएपछि आरोपीले नक्कली फेसबुक आइडी बनाएर अश्लील फोटो र भिडियो बनाएर पोस्ट गरेका हुन् ।

काठमाडौँमा बस्दा प्रेम सम्बन्धमा रहेकी ती महिला हाल जापानमा छिन् । जापान गएपछि उनीहरूको बिचमा मनमुटाब सुरु भएसँगै भीमसेनले अश्लील फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमार्फत पोस्ट गर्ने र पीडितको आफन्तलाई ह्वाट्स एप मार्फत पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले रातोपाटीलाई बताए । घटनाबारे पीडित महिलाको आफन्तले प्रहरीमा उजुरी गरेका हुन् ।