काठमाडौमा गेष्ट हाउस खाेली नाबालिगलाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ

काठमाडौमा गेष्ट हाउस खाेली नाबालिगलाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ


काठमाडौं ।

आर्थिक लाभ लिई नाबालिगहरुलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका-१ घर भएकी ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङ रहेकी छन् ।

उनले काठमाडौ महानगरपालिका-३२ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

यससम्बन्धी सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको उनलाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो । साथै व्यूरोबाट खटिएको प्रहरीले दुई जना बालिकाहरूको उद्दार समेत गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाईदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, शुरूमा वेटरको काममा लगाउने र केही समय पछी ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी भइरहेको उक्त व्यूरोले जनाएको छ ।

यस्तै २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीले ती महिलालाई धापासीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।