८० करोड लागतमा बन्याे नेपालकै पहिलाे ‘गाडा घर’

८० करोड लागतमा बन्याे नेपालकै पहिलाे ‘गाडा घर’


नवलपरासी ।

पूर्वी नवलपरासीको गैँडाकोटको सिख्रौलीबाट पर्यटकका लागि नारायणी नदीमा डुङ्गा सफारी सुरु भएको छ ।

गैँडाकोट–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले जिल्लाको सिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटर डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन थालेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको बगैँचा एड्भेन्चर रिसोर्टले एक वर्षका लागि डुङ्गा सफारीको अनुमति दिएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताए ।

धितालका अनुसार रिसोर्टमा आउने पर्यटकलाई काठे गोरु गाडामा नारायणी नदीको सिख्रौली घाटसम्म र त्यहाँबाट करिब ११ किलोमिटर डुङ्गामा सफारी गराएर दिव्यपुरीसम्म पु-याइने छ ।

डुङ्गा सफारी पछि पर्यटकलाई दिव्य सामुदायिक वनमा जङ्गल सफारीसमेत गराउने गरेर प्याकेज तयार पारिएको धितालले जानकारी दिए । धितालका अनुसार होटल होमस्टे तथा पर्यटन व्यवसायी समितिका साझा पहलमा यस क्षेत्रमा डुङ्गा सफारी सञ्चालन गर्न थालिएको हो ।

यसअघि होटल होमस्टे तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको कोर क्षेत्रमा करिब ५५ किलोमिटर लामो जङ्गल सफारी सुरु गरिएको छ ।

गैँडाकोट नगरपालिकाको हर्कपुरमा करिब ८० करोडको यो रिसोर्ट निर्माणको अन्तिम चरणमा छ । निर्माणाधीन रिसोर्टलाई स्थानीयले गाडा होटल भन्ने गरेका छन् । कार्ट हाउस (गाडा घर) भनेर यसलाई चिनाउन खोजिएको छ । “यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो हो,” उनले भने ।