काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्याे

काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्याे


काठमाडौँ ।

काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । जुन यो वर्षको हिउँद याममा अहिलेसम्मकै कम तापक्रम मापन हो ।

शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यसअघि माघ ८ गते साँझ काठमाडौँको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिउँदे वर्षा नभए पनि माथिल्लो तहमा चिसो बादल आएकाले मौसम चिसिएको छ । त्यसैले उपत्यका लगायत देशैभर जाडो झन् बढ्दो क्रममै छ ।

महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दै आएको छ ।