अशरफलाई भगाउन १ करोड रूपैयाँ मागेका थिए प्रहरी जवान यादवले

अशरफलाई भगाउन १ करोड रूपैयाँ मागेका थिए प्रहरी जवान यादवले


काठमाडाैं ।

लागुऔषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ परेका छन्।

१६ वर्षअघि हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका अशरफ आलमलाई भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान वीरबल राय यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार जेलबाट भगाउन यादवले त्यतिबेला अशरफसँग १ करोड रूपैयाँ मागेका थिए।

पछि १० लाखमा कुरा मिलेपछि यादवले उनलाई हिरासतबाट भगाएका थिए। भगाएपछि भने अशरफले ती प्रहरी जवानलाई ६ लाख २५ हजार रूपैयाँ मात्रै दिएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

हिरासतबाट आरोपी भगाएपछि यादव पनि फरार भएका थिए। एसपी रेग्मीका अनुसार उनीहरू दुबैजना भागेर भारत पुगेका थिए।

यादवलाई बिहीबार काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो। घटनाबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए।