सेनाको श्रमदानबाट स्याङ्जामा २ हेलिप्याड

सेनाको श्रमदानबाट स्याङ्जामा २ हेलिप्याड


स्याङ्जा ।

नेपाली सेनाले स्याङ्जामा दुई ओटा हेलिप्याड निर्माण गरेको छ ।

जिल्लाको अर्जुनचौपारी गाउँपालिका र हरिनास गाउँपालिकामा सेनाले श्रमदानबाट दुईओटा हेलिप्याड निर्माण गरेको हो ।

दुवै पालिका दुर्गम भएकाले पालिकाको आर्थिक सहयोग र नेपाली सेनाको श्रमदानबाट हेलिप्याड निर्माण गरिएको समरजित गुल्मका गुल्मपति सेनानी दिपेश खड्काले जानकारी दिए ।

झण्डै ३ महिना अगाडी अर्जुनचौपारीमा निर्माण सम्पन्न पछि पालिकालाई हस्तान्तरण गरिएको थियो भने हरिनासमा बुधवार हस्तान्तरण गरिएको उनले बताए ।

दुवै पालिकामा ६० वाई ६० फिटको लम्वाई र चौडाई भएका हेलिप्याड निर्माण गरिएको छ ।

अर्जुनचौपारीको कमले बजारमा र हरिनास गाउँपालिकाको ४ नम्बर वाडको चुलीडाँडामा निर्माण गरिएको सेनानी खड्काले बताए । स्थानीय तहको बजेट तथा नेपाली सेनाको जनशक्ति श्रमदानमा “एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण” गर्ने योजना अनुरुप स्याङ्जाको दुई पालिकामा हेलिप्याड निर्माण भएको उनले बताए । यो जिल्लाको आवश्यकता अनुसार क्रमिकरुपले अन्य पालिकामा पनि निर्माण हुने छ ।

हरिनाश गाउँपालिकामा निर्माण गरिएको हेलिप्याड बिहिबार श्री नं. ३ बाहिनी अड्डा खैरेनीटार व्यारेक तनहुँका बाहिनीपति सहायक रथी गौरव कुमार केसीले गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरलाई हस्तान्तरण गरेका छन् ।

विपद्मा उद्धार, बिरामीको छिटो उपचार, लगायत अन्य बिषयमा आपतकालिन अवस्थामा हेलिप्याडको महत्वपुर्ण भुमिका हुने भएकाले नेपाली सेनाले हरेक पालिकामा हेलिप्याड बनाउने लक्ष्य लिएको केसीले बताए ।

आकस्मिक घट्नामा उद्धार गर्न ठुला हेलिकप्टर आवश्यक पर्ने भएकाले हेलिप्याड बनाइएको उनले बताए ।