फुटपाथ व्यवसायीले माघ १६ र २८ गते काठमाडौँ महानगर घेराउ गर्ने

फुटपाथ व्यवसायीले माघ १६ र २८ गते काठमाडौँ महानगर घेराउ गर्ने


काठमाडौँ ।

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते बृहत् सडक आन्दोलनसहित काठमाडौँ महानगर घेराउ गर्ने भएको छ।

शुक्रबार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र सबै फुटपाथ व्यवसायीहरुलाई एक ठाउँमा ल्याएर माघ २८ गते बृहत् सडक आन्दोलन गर्ने कार्यक्रम तय गरिएको बताएको हो।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्नको लागि माघ १७ गते जिल्ला प्रशासन कार्यलय, १८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालयमा र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए।

उनले एक हप्ता सबै स्वरोजगार श्रमिकहरुलाई एक ठाउँमा ल्याएर माघ २८ गते थाल चम्चासहित ठूलो जनसहभागितामा सडक आन्दोलन तथा महानगर घेराउ गर्ने कार्यक्रम तय भएको बताए। उनले काठमाडौँ महानगरपालिकाले फुटपाथ र साना व्यवसायीहरुको माग अहिलेसम्म सम्बोधन नगरेको कारण आन्दोलन गर्न बाध्य भएको बताए।

उनले महानगरले फुटपाथ व्यापारीहरुको जफथ गरेको सामान फिर्ता गर्न माग गरे। उनले निम्न वर्गका व्यवसायीहरुको सामान कब्जा गरी लिलाम गर्ने कार्य महानगरले तत्काल रोक्नुपर्ने बताए।