मकाउ पठाइदिने भन्दै दुई लाख ७० हजार ठगी,एक जना पक्राउ

मकाउ पठाइदिने भन्दै दुई लाख ७० हजार ठगी,एक जना पक्राउ


काठमाडौं ।
वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५३ वर्षीय पृथ्वीराज सिग्देल रहेको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले सिग्देललाई दरबारमार्गबाट नियन्त्रणमा लिएको जानकारी दिए।

पीडित मनिराम सिग्देलसमेतलाई वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै दुई लाख ७० हजार रकम लिइ उनी फरार भएका थिए।

आफू ठगिएको थाहा पाएपछि पीडितहरूले सिग्देलविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन्।

सिग्देलमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।