केहि असन्तुष्टिसहित निर्वाचन आयाेगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

केहि असन्तुष्टिसहित निर्वाचन आयाेगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन


काठमाडाैँ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा चुनावको मतपरिणामलगायत प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेश गरेका छन्।

आइतबार शितल निवास पुगेर आयुक्त थपलियासहित आयोगका टोलीले गत माघ ११ गते भएको चुनावको प्रतिवेदन पेश गरेका हुन्।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले केहि विषयमा भने असन्तुष्टि प्रस्तुत गरेका छन् । राष्ट्रिय सभा चुनावमा मतदान नगर्ने जनप्रतिनिधि, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगरस्थित निवासमा चुनावको अघिल्लो दिन राखेको चियापान जस्ता विषयमा आयुक्त थपलियाले असन्तुष्टि जनाएका थिए।

आयोगले पेश गरेको प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आचारसंहिता लगायतका विषयमा राजनीतिक दलहरूसँग छलफल गरी आयोगले निर्वाचनलाई अझै स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष बनाउनुपर्ने बताए ।

राष्ट्रियसभा चुनावमा काठमाडौं‌ महानगरपालिकाका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपाल हमाल र धरान उपमहानगरका मेयर हर्क साम्पाङले मतदान गरेका थिएनन् ।

त्यस्तै, कांग्रेस नेता शेखर कोइरालाले विराटनगरस्थित आफ्नाे निवासमा गत माघ १० गते मौन अवधि चलिरहेका बेला गरेको चियापान कार्यक्रमकाे आयाेजना गरेका थिए । कोइरालाले राष्ट्रिय सभा सदस्य उम्मेदवार रहेका कृष्णप्रसाद सिटौलासहित कोशी प्रदेश सभा सदस्यहरू र स्थानीय तह प्रमुख तथा उपप्रमुखलाई चियापानमा निम्त्याएका थिए।

१९ सिटका लागि ११ माघमा भएको चुनावबाट नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ जना र नेकपा एमालेबाट १ जना उम्मेदवार विजयी भएका थिए ।