नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनु पर्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सोमबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

‘नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ। यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो,’ उनले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा मलाई निकै खुसी लागेको छ।’

आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए।

प्रधानमन्त्रीले भने, ‘प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ।’

देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालै गएको विनाशकारी भूकम्पको समयमा होस्, प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्दार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको बताए।