विष्णु रिजाललाई प्रश्न : वीरेन्द्रको परिवार ‘सखाप’ पार्ने ज्ञानेन्द्र नै हुन् त ?

विष्णु रिजाललाई प्रश्न : वीरेन्द्रको परिवार ‘सखाप’ पार्ने ज्ञानेन्द्र नै हुन् त ?


काठमाडौँ ।

एमालेका एक नेताले पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा विवादित अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा विदेश मामिला विभाग उपप्रमुख विष्णु रिजालले दरबार हत्याकाण्डको दोषीका रूपमा पूर्वराजा ज्ञानेन्द्रलाई प्रस्तुत गरेका छन् । रिजालले सामाजिक सञ्जाल ‘एक्स’मार्फत् यस्तो अभिव्यक्ति प्रस्तुत गरेका हुन् ।

रिजालले ज्ञानेन्द्रलाई हत्याराका रूपमा मात्र प्रस्तुत गरेका छैनन्, सत्ताकै लागि वीरेन्द्रको परिवारकै हत्या गरेकोसमेत आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘ज्ञानेन्द्र प्राकृतिक राजा थिएनन्, दाजुको परिवार सखाप पारेपछि राजा घोषित भएका थिए ।’

पूर्वराजा ज्ञानेन्द्रले माघ १३ गते वीरगन्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गरेका विषयप्रति कटाक्ष गर्दै रिजालले आफ्नो अभिव्यक्ति सार्वजनिक गरिएको बुझिन्छ । १३ गते पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डको विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारका बारेमा नकारात्मक भ्रम फैलाइएको गुनासो गरेका थिए ।

कार्यक्रममा शाहले २०५८ जेठ १९ मा घटेको कहालीलाग्दो घटनालाई लिएर अहिलेसम्म पनि परिवारमाथि घातक प्रहार हुने गरेको बताउँदै दरबार हत्याकाण्डका प्रत्यक्षदर्शीहरू जीवित हुँदाहुँदै पनि अज्ञानता र छलका कारण अझै पनि कतिपय बहकिने गरेकोप्रति उनले दुखेसो व्यक्त गरेका थिए ।

यही विषयलाई लिएर रिजाल सामाजिक सञ्जालमार्फत् ज्ञानेन्द्रसँग जोरी खोजिरहेका छन् । उनले त ज्ञानेन्द्रलाई जनतामाफ नजान र आफ्नो व्यापार व्यवसायमा मात्र सीमित हुन पनि भनेका छन् । ‘जति चुरीफुरी गर्छन्, त्यति दरबार हत्याकाण्ड उत्खनन हुन्छ । व्यापारी हुन्, अरूमा ध्यान नदिएकै राम्रो,’ उनले भनेका छन् ।

तर, उनले स्वर्गीय राजा वीरेन्द्रलाई भने राजाकै रूपमा प्रस्तुत गरेका छन् । राजावादीतर्फ संकेत गर्दै उनले राजतन्त्र पुनस्र्थापनाको कुरा निरर्थक रहेको बताएका छन् । राजा भनेको स्वर्गीय राजा वीरेन्द्र मात्र हुन् भन्ने तर्क उनको छ । उनले भनेका छन्, ‘‘राजतन्त्र पुनस्र्थापना हुन्छ भन्नु आर्यघाटबाट वीरेन्द्र फर्केर आउँछन् भन्नु जस्तै हो ।’