आगोले जलेर २ महिलाको मृत्यु

आगोले जलेर २ महिलाको मृत्यु


काठमाडौं ।

दाङ र कैलालीमा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । मृतक दुवै महिलाहरु हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको गएराति खाना पकाउने क्रममा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दाउरा बालेर खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किएको र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार ९ माघमा घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर घाइते भएकी न्यौपानेको विहीबार मृत्यु भएको हो ।

उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा एक हप्तासम्म राखेर उपचार गरिएको थियो तर बिहीबार न्यौपानेको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।