विकासकाे गति : ठेक्का सकिएकाे ७ महिना भइसक्याे, काम भने अझै सुरु भएन

विकासकाे गति : ठेक्का सकिएकाे ७ महिना भइसक्याे, काम भने अझै सुरु भएन


सुर्खेत । 

आइतबार जाजरकोटको नलगाड नगरपालिका–५ का राजु शाहीको कच्ची झोलुंगे पुलबाट लडेर मृत्यु भयो । नलगाड नगरपालिका र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको नलगाड नदीमा रहेको कच्ची लथालिङग भएको पुलबाट नदी पार गर्न लाग्दा राजुको मृत्यु भएको थियो । राजु त अहिले देखिएको प्रतिनिधिमूलक पात्र हुन् ।

यो ठाउँबाट यात्रा गर्दा धेरै मानिसले जिन्दगी हत्केलामा राखेर वारपार गर्नुपरेको नलगाड नगरपालिका–५ का खम्मान सिंहले जानकारी दिए । यो पुल मर्मतका लागि तत्कालीन जिल्ला विकास समितिले बिभिन्न संस्थाहरुको सहयोगमा निर्माण गर्नका लागि पुलका सामान थुपारेपनि बीचमै छाडिएको थियो ।

उक्त समयमा पुलका ल्याइएका सामानको ढुवानी भाडा समेत नपाएको नलगाड ५ का कौशीबहादुर सिंहले बताएका छन् ।  सोही ठाउँमा झोलुङगे पुल मर्मत हुन नसकेपछि पक्की पुल निर्माण गर्नका लागि २०७८ फागुन १५ गते तत्कालिन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले शिलान्यास गरेका थिए ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उक्त पुलको ठेक्का गरेको थियो ।  नेपाल मेघा सिस्ने जेभी नेपालगन्ज २ बाँकेले उक्त पुलको ठेक्का ३ करोड ९ लाख ८८ हजारमा लिएको थियो । २०७८ साउन २९ मा सम्झौता भएको उक्त पुलको अन्तिम  काम सक्ने मिति २०८० साउन २८ रहेको छ । निर्माण अवधि सकिँदासम्म पुलको काम नै सुरु नै नहुँदा समस्य हुँदै आएको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटले  निर्माण व्यवसाहीलाई धेरै पटक पत्र पठाएपनि मतलब नभएको कार्यालय प्रमुख सोहिन्दर यादवले बताए ।

उक्त शिलान्यास गरेको दिनदेखि हालसम्म समय हेर्दा पुल निर्माण भइसक्नु पर्ने थियो । तर पुल निर्माणको काम अहिलेसम्म जहाँको त्यही रहेपछि दैनिक सर्बसाधारणहरु जिर्ण झोलुङग पुलमाथि जिन्दगी धरापमा राखेर यात्रा गरिरहेका छन् । यातायातका साधनहरु आवतजावत गर्नका लागि भन्दै बहुवर्षे ठेक्का मार्फत पक्की पुलको बोलपत्र भई ठेक्का लागि शिलान्यास भएको पुल अहिलेसम्म निर्माण नहुँदा दैनिक सास्ती मात्र भएको छैन , दिगो विकासको लक्ष्यसमेत अवरुद्ध हुँदै आएको छ । मन्त्री सिंह हुँदा भएको ठेक्का अहिलेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पहलकदमी कम चासो दिएको आरोप लागेको छ । मन्त्री बेदराज सिंहको घरबाट साघुतरास्थित पुल निर्माण स्थल पुग्न आधा घण्टा लाग्ने गर्दछ । घर जाँदा र आउदा यही ठाउँलाई केन्द्र बनाउने भएपनि उक्त पुल निर्माणलाई तिब्रता दिन चाँसो नदिएको भारी गुनासो रहेको छ ।

पूर्वमन्त्री गणेशले सुरु गरेका योजना हालका मन्त्री बेदराजले ध्यान नदिँदा आफूहरुले चाहेको विकास प्रयोग गर्न नपाएको बारेकोट –८ का प्रविण केसीले बताए । पुल निर्माणमा अवरोध आएमा स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेर विकास निर्माणलाई तिब्रता दिनुपर्नेमा जनप्रतिनिधि कानमा तेल हालेर चुपचाप बसेको समेत उनको आरोप छ । नलगाड नगरपालिका–५ का वडाध्यक्ष र बारेकोट गाउँपालिका –८ का वडाध्यक्षले समेत पूल निर्माण गर्नका लागि कुनै दबाब दिएको अर्का स्थानीयबासी मनसुर सिंहले आरोप लगाए । पूर्वमन्त्री सिंहले उक्त पक्की पुल निर्माण गर्नका लागि आफूले धेरै पटक निर्माण व्यवसायी र स्थानीयबासीसँग छलफल गरेको बताए । विकास निर्माण गर्ने बाचासहित आएका नयाँ जनप्रतिनिधिहरु जिम्मेवारी ढंगले लागेमा कामले तिब्रता पाउने कुरामा दुइमत नरहे पनि कमिसन आउने काममा मात्र ध्यान दिँदा विगतका योजनाहरु अलपत्र परेको अर्का स्थानीयबासी रामबहादुर सिंहले बताए ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोट स्थित पूर्वाधार विकास कार्यालयले लगाएको उक्त ठेक्का अहिले अलपत्र पर्दै आएको छ  । सो समय भन्दा पछाडी जाजरकोटमा एक कार्यालय प्रमुख बदलिएका छन् । प्रविण कार्की कार्यालय प्रमुख हुँदा खोलिएको उक्त ठेक्का अहिलेका कार्यालय प्रमुख सोहेन्दर यादव बहाल हुँदा कार्यालय प्रमुख बदलिएपनि पुलको विकास जहाँको त्यही रहेको पाइएको छ । मन्त्री बेदराज सिंहले पहिले ठेक्का लागेको पुलभन्दा माथी अथवा सेपुखोलामा बेलिब्रिज पुल निर्माण गर्नका लागि बजेट बिनियोजन गर्नुभएको छ । उत्ता साघुतरा– सिर्केको पुल निर्माण कम प्राथमिकतामा परेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले गुनासो गरे । उनले पुल निर्माण गर्नका लागि बाटो आवश्यक भएकाले सो कार्यमा आफूले फिल्डमै खटेर समाधान गरेपनि सम्वन्धित कार्यालयले मतलब नगरेको बताए । पुराना योजना निर्माण भन्दा पनि नयाँ योजनालाई ध्यान दिदा समस्य आएको अध्यक्ष गिरीले बताए ।

सेपुखोलामा निर्माण हुने बिलिब्रिज मन्त्री सिंहको घर छेउमा रहेको छ । सेपुखोलामा बेलिब्रिज निर्माण भएमा लैखम,सेघुतराको मोटरेबल पुल ओझेलमा पर्ने देखिन्छ । दुरीको हिसावले आधा घण्टा पैदल रहेको उक्त ठाउँमा मन्त्री पिच्छे घर पायक बनाउँदा खोज्दा दिगो विकास हुन नसकेको सरोकारवालाहरु बताउँछन् । सेपुखोला भन्दा लैखमको पुल धेरै राम्रो भएपनि किन अवरोध गर्न खोजिँदैन मैले बुझेको छैन अध्यक्ष गिरीले बताए । सेपुखोलाको बेलिब्रिज नलगाड जलविद्युत आयोजना निर्माण हुँदा ड्याम स्थल भित्र पर्दछ भने साघुतरा – सिर्केको बीचमा रहेको नलगाडको पुल डुवान क्षेत्र भित्र पदैन । जिल्लामा भारी मात्रामा विकास निर्माणका कामहरु लथालिङग भए पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको आरोप लाग्दै आएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने माननीयहरुलाई राखेर विकास निर्माणको छलफल गर्दा निर्माण व्यवसायीले नाता लगाएर माननीयहरुलाई हैरान बनाउने गरेको पाइएको छ ।