रास्वपाकाे २ महिने दबाब अभियान, अलपत्र पारिएका २१ आयोजनामा २० सांसदकाे खबरदारी

रास्वपाकाे २ महिने दबाब अभियान, अलपत्र पारिएका २१ आयोजनामा २० सांसदकाे खबरदारी


काठमाडौं ।

राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान गर्दैछ । आइतबारदेखि २ महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गरेका छन् ।

रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदैछन् ।

मेलम्ची खानेपानी आयोजनाको काम यथासीघ्र सम्पन्न गर्न माग गर्दै रास्वपाले अभियानको प्रारम्भ गर्न लागेको हो । रास्वपाका अनुसार सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको नेतृत्व भने सांसद सोविता गौतमले गर्दैछिन् ।

सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

दबाबकाे पहिलाे दिन आज रास्वपाले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा गर्दै छ । मेलम्ची परियोजनाको दीर्घकालीन हितमा काम नगरेकाे भन्दै  रास्वपाले दबाब यात्रा गर्न लागेको हो।

रास्वपाले विकास निर्माणमा दबाब दिने उदेश्यले तय गरिएको दबाब अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ । अभियानमा पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग गरिएका कुनै पनि सामाग्रीको प्रयोग नगर्ने समेत रास्वपाले जनाएको छ ।