काठमाडौं महानगरमा राष्ट्रिय सतर्कता केन्द्रको छड्के, १० वडामा ७ जना अनुपस्थित

काठमाडौं महानगरमा राष्ट्रिय सतर्कता केन्द्रको छड्के, १० वडामा ७ जना अनुपस्थित


काठमाडौं ।

राष्ट्रिय सतर्कता केन्द्रको छड्के अनुगमनमा काठमाडौं महानगरपालिका परेको छ।

आइतबार केन्द्रले गरेको छड्केमा काठमाडौं महानगरपालिका परेको सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार छड्के अनुगमनका क्रममा नौ जना कर्मचारीले तोकिएको पोशाक नलगाई उपस्थित भएको पाइएको छ। यस्तै दुई जना कर्मचारी भने कार्यकक्षमा नभेटिएको उनले बताए।

सोही क्रममा १० नम्बर वडा कार्यालयमा सात जना अनुपस्थित रहेको र एक जना कार्यकक्षमा नभेटिएको उनले बताए।

वडा नम्बर २९ को कार्यालयमा भने पाँच जना कर्मचारी अनुपस्थित थिए।

त्यसैगरी तीन जनाले तोकिएको पोशाक नलगाएको विज्ञप्तिमा उल्लेख छ। सोही वडा कार्यालयमा महिला पुरूषको शौचालय नछुट्याइएको, स्तनपान कक्ष नभएको, चमेना गृह नरहेको पनि पाइएको उल्लेख छ।

१० नम्बर वडामा भने स्तनपान कक्ष र चमेनागृह नभएको तथा सहायता कक्ष निर्माणाधीन अवस्थामा रहेको पाइएको जनाइएको छ।