आगलागीमा परी दाजुबहिनीको मृत्यु

आगलागीमा परी दाजुबहिनीको मृत्यु


मुगु ।

मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलामा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ।

गएराति १ बजेतिर गाउँका तीन वटा घरमा आगलागी भएको हो। आगलागीमा परी स्थानीय लालु सञ्ज्यालका छोरा र छोरीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार ती दाजुबहिनी घरभित्रै मृत अवस्थामा फेला परेका थिए। घटनापछि चिकित्सक बोलाइएको थियो।

‘सोमबार बिहान सवा ६ बजेतिर स्थानीयले सञ्ज्यालका दुई बालबालिका फेला नपरेको र आगो लागेको भन्ने जानकारी गरेका थिए। प्रहरी पुगेपछि १० बजेतिर दुइटा जलेका शरीर भेटिएका थिए,’ उनले भने, ‘शव पहिचान गर्न सकिने अवस्था नभएर डाक्टरलाई नै बोलाएर पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको छ।’

उनका अनुसार गोडेखोला गाउँका स्थानीय लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रूपमा जलेका छन्। उनीहरूका घर एकआपसमा जोडिएका थिए।

उनीहरूको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन्। खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको थियो। तीन वटै घरमा रहेको धनसम्पत्ति, पशु वस्तु, खाद्यान्न पूर्ण रूपमा क्षति भएको छ।