भरतपुरका निजी अस्पतालमा अनुगमन

भरतपुरका निजी अस्पतालमा अनुगमन


चितवन ।

भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरुआत गरेको छ । स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो ।

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वको टोलीले अस्पतालको भौतिक संरचना, शय्या, औषधि, उपकरणको अवस्था, लिफ्ट वा अपाङ्गतामैत्री र्याम्प, पर्याप्त पार्किङ भए/नभएकोलगायत विषयमा स्थलगत निरीक्षण गरेको छ ।

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुधार हुन जरुरी रहेको उनले बताए ।

अनुगमन क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौड्यालले अस्पताललाई व्यवस्थापन गर्न र कानुनी दायरामा ल्याउनका लागि अनुगमन सुरु गरिएको उल्लेख गरे।

भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता अनुमति नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ ले महानगरभित्र सञ्चालन हुने निजी अस्पताल, क्लिनिक र प्रयोगशालालाई मापदण्डअनुसार सञ्चालन गर्न अनुमति दिने व्यवस्था रहेको छ ।

जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत दीपक सुवेदीका अनुसार भरतपुर महानगरपालिकामा अस्पताल, क्लिनिक र प्रयोगशाला गरी ४९ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । यसमध्ये अस्पताल चार, बाँकी ४५ क्लिनिक र प्रयोगशाला छन् ।

त्यस्तै अहिले महानगरपालिकामा तीन अस्पताल, ४३ क्लिनिक तथा प्रयोगशालाले अनुमतिका लागि निवेदन दिएका छन् । स्थानीयस्तरमा १५ शय्यासम्मको अस्पताल सञ्चालन गर्न स्थानीय सरकारलाई अनुमति दिइएको छ भने प्रदेश सरकारले दुई सय शय्यासम्मको अस्पताल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेको छ । दुई सय शय्याभन्दा माथिको अस्पताल सञ्चालन गर्न सङ्घीय सरकारलाई अधिकार दिइएको छ ।