सिद्धार्थनगरले ५६ वर्षपछि पहिलो पटक मनायो स्थापना दिवस

सिद्धार्थनगरले ५६ वर्षपछि पहिलो पटक मनायो स्थापना दिवस


भैरहवा ।

सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५६ वर्षपछि नगरपालिकाको कार्यालयले पहिलो पटक विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो ।

तत्कालीन श्री ५ को सरकारद्वारा १० हजार ७ जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्र नगरपालिकाको कार्यालयले खोज गरेको थियो ।

स्थापना दिनको प्रमाण स्वरूप राजपत्र फेला परेपछि सोही राजपत्रका आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाएको हो ।

दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरबासीको सहभागितामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ भने नगरबासीले साँझ दीप प्रज्वलन समेत गरेका छन् ।

नगरपालिका कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले स्थापना भएदेखि पहिलो पटक दिवस मनाउन पाएको खुशी व्यक्त गर्दै नगरबासीलाई शुभकामना दिए ।
उनले माघ २२ गते नगरबासीका लागि ऐतिहासिक दिन भएकाले साँझ घरघरमा दीप प्रज्वलनलगायत कार्यक्रम गरेर स्थापना दिवस मनाउन आग्रह गरेका थिए ।

उनले नगरलाई पर्यटकीय नगरका रूपमा विकास गरिने बताए । नगर विकासका लागि आफूहरू आएकाले क्रमशः प्राथमिकताका आधारमा विकासका कार्य गर्दै जाने उनको भनाइ छ ।

त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले नगर क्षेत्रको विकासका लागि विधि र शासनको पालना गर्नुपर्ने विषयमा जोड दिए । उनले नगरका जनप्रतिनिधिहरूले राम्रो कार्य गरिरहेको बताउँदै अझै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवले पुरानो पालिकामध्येको सिद्धार्थनगर नगरपालिकाले विकासको गतिमा धेरै फड्को मारेको भन्दै स्थापना दिवसको शुभकामना व्यक्त गरे ।

सो अवसरमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले नगर क्षेत्रको विकासको लागि नगरपालिकाले आगामी दिनमा थप सशक्त रुपले योजना बनाएर अघि बढ्ने बताइन् । स्थानीय सरकार नजिकको सरकार भए पनि हातेमालो गरेर अघि बढे मात्र विकासलगायत कार्य सम्भव हुने उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सिद्धार्थनगर मुलुकको सुन्दर नगरपालिका बन्न सक्ने क्षमता भएका कारण ठुलो योजनाभन्दा पनि नगर क्षेत्रभित्र रहेका योजनाहरूलाई सफल बनाउन लाग्नुपर्ने धारणा राखे ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले नगरको विकासका लागि निजी संस्थाले गर्नुपर्ने काममा सधैँ हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठलगायत वक्ताले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै नगरलाई पर्यटकीय सहर बनाउने गरी अगाडि बढ्न सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।