निर्देशक निश्चल बस्तेतले इलाममा रहेकाे आफ्नो ३ रोपनी जग्गा स्वास्थ्य संस्थालाई दिए

निर्देशक निश्चल बस्तेतले इलाममा रहेकाे आफ्नो ३ रोपनी जग्गा स्वास्थ्य संस्थालाई दिए


काठमाडौं ।

फिल्म निर्देशक तथा कलाकार निश्चल बस्तेतले इलाम नगरपालिका–१, साखेजुङका रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई प्रदान गरेका छन् ।

आज (मंगलबार) इलामस्थित मालपोत कार्यालय आएका कलाकार बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ख ५३ रहेको तीन रोपनी दुई दाम दुई पैसा जमिन स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई दान दिएका हुन् ।

आफ्नो घर भएको ठाउँको जग्गा दान दिन पाउँदा खुसी भएको कलाकार बस्नेतले बताए ।

‘हाम्रो घर यही साखेजुङ हो, बुबा बसाइँ सरेर जानुभएपनि म बाल्यकालदेखि नै बुबा र परिवारसँग साखेजुङ आउजाउ गर्थें,’ मालपोतमा जग्गा दान गरिसकेपछि उनले भने, ‘अहिले पनि बुबासँगै आएको छु ।’

वडा १ का वडाध्यक्ष गायत्रीराम बस्नेतले जनता आधारभूत विद्यालयसँगै रहेको स्वास्थ्य उपकेन्द्रलाई जग्गा निकै साँघुरो भएका बेला कलाकार बस्नेतले दिएको जमिन निकै उपयोगी हुने बताए । ‘उहाँहरूले प्रदान गर्नुभएको जमिन बाटोसँगै जोडिएकाले पनि मूल्यवान् र उपयोगी छ,’ उनले भने, ‘साँघुरो रहेको स्वास्थ्य उपकेन्द्र अब सुविधाजनक हुनेछ ।’