सदरमुकाम नजिकैकाे विद्यालय-जहाँ विद्यार्थी दिसा पिसाब गर्न जङ्गल छिर्छन् !

सदरमुकाम नजिकैकाे विद्यालय-जहाँ विद्यार्थी दिसा पिसाब गर्न जङ्गल छिर्छन् !


सिन्धुली ।

जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट नजिकै भएर पनि कमलामाई नगरपालिका–४ स्थित ढाँडे र ढकालगाँउ शिखर दुर्गम गाँउको रुपमा परिचित छ ।

उक्त गाँउमा दलित समुदायको बस्ति रहेको छ । उक्त समुदायले आफ्ना बालबालिका पढाउन गाउँको बिचमा स्थापना गरेको सामुदायिक विद्यालय भने यतिखेर जीर्ण बनी अभाव र समस्याले झेलिएको छ ।

ढाँडे र ढकाल गाँउको बिचमा रहेको जनमुखि प्राथमिक विद्यालयमा यतिखेर बालबालिका पढ्न न त सुविधा सम्पन्न भवन नै छ १ न त खानेपानीको सुविधा नै छ । विद्यालयमा पढ्न आएका बालबालिकालाई दिसा पिसाब गर्न विद्यालय नजिकैको जङ्गल छिर्नु पर्ने बाध्य छ । तीन कक्षासम्म पढाई हुने उक्त विद्यालयमा दुई कोठाको एउटा भवन मात्रै रहेको छ ।

विद्यालयका शिक्षक उमामाया लामिछाने एउटा कोठामा कार्यालय (अफिस) सहित बाल विकास र कक्षा १ को पढाई र अर्को कोठामा कक्षा २ र ३ को पढाई सञ्चालन गर्दै आएको गुनासो गछिन् । ‘‘ढाँडे र ढकालगाँउ शिखरमा गरी कुल २३ घर परिवार रहेको छ, ती सबै दलित समुदाय (बि.क. र सार्की) हुन् ।,’’ उनले भने, ‘‘यो विद्यालयमा अहिले २४ जना बालबालिका अध्ययनरत छन् । २०६१ सालमा स्थापना भएर पनि जनमुखि प्रावि यतिखेर विभिन्न समस्या र अभावले झेलिएको छ ।’’

विद्यालयमा भवन, फर्निचर, शौचालय, खानेपानी लगायतको सुविधा नभएको उनले सुनाए । उक्त विद्यालयमा कार्यरत कर्मचारी भने दुई जना राहत शिक्षक, एक जना बालकक्षाको शिक्षक र एक जना कार्यालय सहयोगी रहेका छन् । विद्यालयमा दुई कोठाको शौचालयको भवन रहेपनि ढोका भत्किएको छ ।

शौचालयमा ढोका र पानीको अभावले दिसा पिसाब गर्न विद्यालय छेउमा रहेको घारीमा छिर्ने गरेको तीनै शिक्षकहरु बताउछन् । शिक्षकहरुका अनुसार विद्यालयमा खान पानी समेत डिउ र कोकको जम्बो बोतलमा घरबाट नै भरेर ल्याउनु पर्ने बाध्यता रहेको छ । उक्त विद्यालयमा भएको अहिलेको दुई कोठाको भवन पनि २०७२ सालको भूकम्पपछि २०७३ सालमा निर्माण गरिएको हो ।

भूकम्प अघि ढुङ्गा, माटोको गाह्रो र बासको बेरा लगाएको भवन भए पनि भूकम्पले भत्काएपछि अहिले उक्त भवन निर्माण गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर बिकले जानकारी दिए । उनले भने, ‘‘टिएलसी भवनको माग गरी वडा कार्यालय, नगरपालिका लगायतका निकायलाई भनी रहेका छौं, तर कतैबाट सुनुवाइ भएको छैन ।’’

जिल्ला सदरमुकामबाट नजिकै भएर पनि ढाँडे र ढकालगाउँ शिखरका बासिन्दाले दुर्गम क्षेत्रका बासिन्दाको जस्ती अभाव र समस्या झेलेर बस्नु परेको उनको गुनासो छ । समितिका अध्यक्ष बिकका अनुसार ढाँडे र ढकालगाउँ शिखरका अधिकांश बासिन्दाका दैनिक गुजरा बनिबुतो गरी चल्दै आएको छ । ‘गाउँमा कच्चि मोटरबाटो खनिएको छ, हिउँदको समयमा जसोतसो मोटर साइकल र ट्याक्टर ल्याउदा आउछ,’’ उनले भने, ‘‘पानी पर्न थालेपछि त्यो पनि बन्द हुन्छ । गाउँमा खानेपानीको समेत उस्तै समस्या छ ।’’

विकासको नाममा गाउँमा बिजुली भने आएको स्थानीय अभिभावक बताउँछन् । कमलामाई नगरपालिका–४ का वडा अध्यक्ष महेन्द्रप्रसाद ढकाल पनि उक्त विद्यालयमा नयाँ भवन निर्माण गर्न नगरपालिका र बागमती प्रदेश सरकारसँग चार पटक सिफारिस गरेर माग गरेको भए पनि सुनुवाइ नभएको बताउछन् । ‘‘नयाँ भवन निर्माणका लागि विभिन्न प्रयास गरि रहेको छु,’’ उनले भने, ‘‘तर सकि रहेको अवस्था छैन ।’’