बाँसबारी जग्गा प्रकरणलाई लक्षित गर्दै गगनले भने- जो सुकै होस् ,जति शक्तिशाली होस् दण्डित हुनुपर्छ

बाँसबारी जग्गा प्रकरणलाई लक्षित गर्दै गगनले भने- जो सुकै होस् ,जति शक्तिशाली होस् दण्डित हुनुपर्छ


काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भएपनि कानुनी दायरामा आउनुपर्ने बताए ।

बाँसबारी जग्गा प्रकरणलाई लक्षित गर्दै उनले भने, ‘जो सुकै होस् । जति शक्तिशाली होस् । राजनीतिक होस् कि आर्थिक शक्ति होस् । नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन ?’

यस्तै नागरिकता कीर्ते प्रकरणमा मुछिए पनि संसदको महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले माफी पाउन नहुने महामन्त्री थापाको तर्क छ । ‘जति सुकै शक्तिशाली होस् । जुन सुकै पदमा बसेको हो । हातमा ताकत होस् । कलम होस् । नागरिकता बनाउनलाई कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ । त्यसकारणले गर्दा उसको कीर्ते माफी हुन्छ चल्छ ?’ उनको प्रश्न छ ।