सत्ता पक्षका सांसदलाई रवि लामिछानेकाे प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?

सत्ता पक्षका सांसदलाई रवि लामिछानेकाे प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले सरकारलाई काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षका सांसदहरूलाई कहाँ बेथिति छ, कहाँ सुधार गर्नुपर्ने सबै थाहा रहेको बताउँदै त्यो काम गर्न कसले रोकेको भन्दै प्रश्न गरेका हुन् ।

उनले भने– ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसङ्गति छ, के गरे उपलब्धि हासिल गर्न सकिन्छ सबै थाहा रहेछ, मेरो प्रश्न नगरेको चाहिँ किन ? हामी नयाँ दलले रोकेको हो त ? यदि नयाँ दलले रोकेको हो भने कहाँ रोकेको हो, जानकारी पाउन पाए हुन्थ्यो ।’

उनले थपे– ‘पुराना दलहरूले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू दलको पदाधिकारी रहन्छन्, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्छु भनेको भाषणलाई कार्यरुप दिनका लागि विश्वविद्यालयमा भातृ सङ्गठन नराख्नका लागि निर्णय गरेर काम अघि बढाउने हो कि ? सरकारी जग्गा किर्ते गर्नेहरू, आफ्नै वरिपरि छन् कि ? पार्टीगत रूपमा तिनलाई कारबाही गरेर सुशासनको उदाहरण दिने हो कि ? नागरिकता किर्ते गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ? लामो समय सरकारमै भएजस्तो लाग्छ । राजनीतिमा सरकारमा वर्षौँ हुँदा पनि रोक्यो चाहिँ के ले ? नयाँ दलले ? नयाँ मान्छेले ?’