ललितपुरमा पेस्तोलको गोली र ब्राउन सुगरसहित ४ जना पक्राउ

ललितपुरमा पेस्तोलको गोली र ब्राउन सुगरसहित ४ जना पक्राउ


काठमाडौं ।

ललितपुरमा पेस्तोलको गोली र ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्।

बुधबार दिउँसो १ बजेतिर महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित एक घरबाट प्रहरीले चार जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो।

पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली छन्।

सोही वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई भक्तपुर बस्ने मनोज थापा र भारतीय नागरिक सिनामंगल बस्ने सञ्जय मेहता पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूलाई लायोक बस्ने घरबाट पक्राउ गरेको हो। उनीहरूबाट १४.६८ ग्राम ब्राउन सुगर र दुई राउण्ड नाइन एमएमको गोली बरामद भएको हो।

लागुऔषधको कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि प्रहरी प्रभाग लुभुका इन्चार्ज सई सन्तोष बुढाथोकी कमाण्डमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त सातदोबाटो पठाइएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।