ज्यान मार्ने धम्की दिदैं ५ करोड फिरौती माग्ने २ जना पक्राउ

ज्यान मार्ने धम्की दिदैं ५ करोड फिरौती माग्ने २ जना पक्राउ


काठमाडौं ।

५ करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा २ जना पक्राउ परेका छन् ।

बुधबार राति कास्की प्रहरीले पोखरा–८, सिमलचौरबाट पक्राउ गरेका उनीहरुलाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. २, खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र सोही पालिकाको वडा नं। १४ का ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।

उनीहरुले पोखरामा सच्चाइ केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन र एसएमएसबाट धम्क्याई बारम्बार रकम माग गरेका थिए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले फोन र एसएमएसबाट उनीहरुले सो रकम नदिए मार्ने धम्की दिएको र बारम्बार सच्चाइ केन्द्रमा गई रेकीसमेत गरेको जानकारी दिए।

दर्जी र थापाको साथबाट पाँच सय ७२ ग्राम गाँजा, केही सिम, भरुवा बन्दुकमा लाग्ने केफ, लगायतका सामग्री बरामद भएको छ ।

प्रहरी प्रमुख थापाले अभियुक्तहरुले एक महिनादेखि सिमलचौरमा कोठा लिएर यस्तो गतिविधि गरेको थाहा भएको जानकारी दिए । “उनीहरुले पोखराका प्रतिष्ठित उद्योगपति, व्यापारी, नेता लगायतका करिब ३० जनाको नाम, ठेगाना, परिवारका सदस्यको नामसमेत टिपोट गरेका आठ पाना भेट्टाएका छौँ,” प्रहरी प्रमुख थापाले भने ।