आतिफ असलमको लाइभ सो काठमाडौंमा, कन्सर्टको टिकेटिङ पाटर्नरमा खल्ती

आतिफ असलमको लाइभ सो काठमाडौंमा, कन्सर्टको टिकेटिङ पाटर्नरमा खल्ती


काठमाडौँ ।

पाकिस्तानी गायक आतिफ असलमको लाइभ म्युजिकल सोमा आधिकारिक टिकेटिङ पार्टनरको रूपमा खल्तीले सम्झौता गरेको छ। खल्तीले तरिस इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनसँग सम्झौता गरेको हो।

सम्झौताअनुसार काठमाडौं म्युजिक फेस्टिभल २०२४ मा दक्षिण एसियाकै चर्चित आवाज आतिफ असलमको लाइभ सोमा खल्तीले बक्सअफिसदेखि अनलाइन टिकट बिक्रीसम्मको सबै जिम्मा लिनेछ।

‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ आगामी चैत ३० र नयाँ वर्ष वैशाख १ मा हायात रिजेन्सी परिसरमा दिउँसो ४ बजे सुरु हुनेछ।खल्ती प्रयोगकर्ताले इभेन्टको टिकट खल्ती एपमार्फत खरिद गर्न सक्नेछन्।

नयाँ वर्ष अवसरमा हुन लागेको ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ मा आतिफ असलम कन्सर्ट पहिलो दिनका लागि तय गरिएको छ भने दोस्रो दिन थप नेपाली र भारतीय प्रख्यात कलाकारको प्रस्तुति रहनेछ। दुवै इभेन्टको टिकट खल्तीमा उपलब्ध गराइनेछ। खल्तीले केही महिनाअघि हायातमै भएको अरिजित सिंह लाइभ सोमा पनि अनलाइन र बक्सअफिस टिकेटिङ जिम्मेवारी लिएको थियो।

स्वर बेल्टिङबाट परिचित आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीत गाएका छन् भने सन् २००८ मा पाकिस्तान सरकारबाट चौथो सर्वोच्च नागरिक सम्मान ‘तमगा–ए–इम्तियाजÞ’ बाट सम्मानित भएका थिए।

उनको सुमधुर आवाज र गायन क्षमताले ठूलो संख्यामा दर्शक, श्रोताको मन जित्न सफल भएका छन् भने थुप्रै अवार्ड पनि हात पारेका छन्।

काठमाडौं म्युजिक फेस्टिभल २०२४’ आतिफ असलम लाइभ सोको एक मात्र टिकटिङ प्लेटफर्मको रूपमा उपस्थित भएर संस्थालाई इनोभेटिभ तथा युवामैत्री लाइफ स्टाइल ब्रान्डको रूपमा स्थापित गराउने उद्देश्य लिइएको खल्तीका सिइओ विनय खड्काले बताए।