एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न अनुरोध

एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न अनुरोध


काठमाडौं ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न आग्रह गरेका छन्।

मोटरसाइकल चोरीको घटना बढेका कारण सुरक्षित स्थानमा मात्रै सवारी साधन पार्किङ गर्न उनले आग्रह गरेका छन्।

हराएका मोटरसाइकल फेला पारी हस्तान्तरणको क्रममा बोल्दै एसएसपी भट्टले ह्वील लक, चेनलक, ह्याण्डि लक, डिस्कलक सहित सुरक्षा साइरन जडान नगर्दा पनि मोटरसाइकल चोरीको घटना बढेको उनले बताए।

उनका अनुसार ६ महिनाको अवधिमा हराएका २५२ मोटरसाइकल फेला पारी कार्यालयले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ।

विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको हो।

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका २५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार शुक्रबारमात्रै पनि १७ दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ। यसमा १४ वटा मोटरसाइकल र तीनवटा स्कुटर रहेका छन्।

यस्तै प्रहरीले अवैधरूपमा नेपाल भित्रिएका १२ सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता भट्टले बताए । चालु आर्थिक वर्षको हालसम्म चोरीका २० सवारीसाधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बूढानीलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्कलगायतका स्थानमा दुईपाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।