काठमाडौं । भारतको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का नेताहरू चुनाव आयोगका प्रमुखको राजीनामा माग्दै प्रदर्शन गर्न निषेधित क्षेत्रमा प्रवेश गरेपछि मंगलबार बिहान पक्राउ परेका छन् ।
पार्टीका संस्थापक अभिजित दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा आशुतोष रंका र सौरभ दासलाई प्रहरीले दिल्लीको जन्तरमन्तरबाट नियन्त्रणमा लिएको देखिन्छ । जन्तरमन्तर दिल्लीको ऐतिहासिक स्थल हो, जहाँ लामो समयदेखि प्रदर्शन हुँदै आएको छ ।
भिडियोमा रंका र दाससहित अन्य व्यक्तिले प्रहरीको अवरोध पार गर्दै भारतीय झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीका विपक्षीहरूले मतदाता नामावली पुनरावलोकन प्रक्रियाले उनको पार्टीलाई फाइदा पुर्याउने आरोप लगाएका छन् । तर मोदीको पार्टी र निर्वाचन आयोगले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भारतमा केही दिनदेखि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले प्रदर्शन गर्न तोकिएका स्थानसम्बन्धी प्रतिबन्धको विरोध गरिरहेका बेला प्रहरीले दिल्लीभर सुरक्षा व्यवस्था कडा पारेको छ ।
मंगलबार बिहान दिप्के, दास र रंकाले जन्तरमन्तर प्रवेश गरेको भिडियो सार्वजनिक गरेका थिए । ‘तपाईंहरूले प्रतिरोधलाई निषेधित घोषणा गर्न सक्नुहुन्न,’ दिप्केले एक्समा लेखेका छन् ।
दासले पनि जन्तरमन्तरलाई पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दै आफूहरू पक्राउ परेको बताएका थिए । प्रहरीले उनीहरूलाई कहाँ लगेको हो भन्ने तत्काल स्पष्ट भएको थिएन ।
पछि रंका प्रहरीको बसबाट इन्स्टाग्राम लाइभमा देखिएका थिए । उनीसँगै अन्य पक्राउ परेका व्यक्तिहरू पनि थिए । उनीहरू हँसिलो मुद्रामा देखिएका थिए र आन्दोलनबाट पछि नहट्ने बताएका थिए ।
गृह मन्त्रालयले जन्तरमन्तरलाई प्रदर्शनस्थलका रूपमा तोकिएको सूचीबाट हटाउने घोषणा गरेको एक दिनपछि यो घटना भएको हो । लामो समयदेखि दिल्लीमा प्रदर्शनको केन्द्र रहँदै आएको जन्तरमन्तरको सट्टा सरकारले अनुमतिसहित प्रदर्शन गर्न सकिने तीनवटा वैकल्पिक स्थान तोकेको छ ।
यसअघि सीजेपीले जन्तरमन्तरमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति माग्दै दिल्ली प्रहरीका अधिकारीहरूसँग भेट गरेको थियो । जवाफ नआए थप प्रदर्शन घोषणा गर्ने चेतावनी पनि दिएको थियो ।
‘हामीले जन्तरमन्तरमा प्रदर्शन गर्न कहिले पाउँछौँ भनेर दिल्ली प्रहरीसँग सोधेको ३० मिनेटमै जन्तरमन्तरलाई प्रदर्शनस्थलको सूचीबाट हटाइयो,’ रंकाले यसअघि एक्समा लेखेका थिए ।
पार्टीका अधिकांश नेता पछिल्ला केही दिनदेखि दिल्लीमा छन् । तर हजुरआमाको निधन भएपछि दिप्के आफ्नो गृहप्रदेश महाराष्ट्र गएका थिए । शनिबार हुने भनिएको प्रदर्शनअघि पक्राउ परेका सीजेपीका केही नेतामध्ये उनी पनि थिए । उनलाई भोलिपल्ट रिहा गरिएको थियो ।
सीजेपीले शनिबार जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । तर प्रदर्शनकारीलाई उक्त स्थलसम्म पुग्न रोक्न प्रशासनले राजधानीभर कडा सुरक्षा प्रतिबन्ध लगाएको थियो ।
प्रहरीले कैयौँ मेट्रो स्टेसन बन्द गरेको थियो भने रेल सेवा प्रभावित भएको थियो । हजारौँ प्रहरी र अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएका थिए ।
सप्ताहान्तमा प्रहरीले हजारौँ मानिसलाई पक्राउ गरेर रिहा गरेको थियो । पक्राउ पर्नेमा केही पत्रकार पनि थिए । प्रदर्शनका क्रममा खिचिएका केही भिडियो र तस्बिरमा प्रहरीले महिला प्रदर्शनकारीसहित मानिसहरूलाई जबर्जस्ती घिसार्दै बसमा राखेको देखिन्छ ।
यसैबीच, विपक्षी दलहरूले सोमबार दिल्लीको प्रमुख व्यापारिक क्षेत्र कन्नट प्लेसबाट सर्वोच्च अदालतसम्म र्याली निकालेका थिए ।
भारतको प्रमुख विपक्षी दल कांग्रेसले पनि मतदाता नामावली पुनरावलोकन प्रक्रियालाई चुनौती दिँदै सोमबार सर्वोच्च अदालतमा निवेदन दिएको छ । उक्त प्रक्रियाका क्रममा करोडौँ मानिसको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
आलोचकहरूले यस प्रक्रियाले मतदान गर्न योग्य नागरिकसमेत मताधिकारबाट वञ्चित हुन सक्ने र उनीहरूलाई आफ्नो योग्यता प्रमाणित गर्न कठिन हुने जोखिम रहेको बताएका छन् ।
‘द इन्डियन एक्सप्रेस’ले मुख्य निर्वाचन आयुक्त कुमारले मतदाता दर्तामा गरिएको परिवर्तनबारे अन्य दुई निर्वाचन आयुक्तले उठाएका चिन्तालाई बेवास्ता गरेको समाचार प्रकाशित गरेपछि यस विषयमा आक्रोश थप बढेको हो । निर्वाचन आयोगले भने निर्णय सर्वसम्मत भएको बताएको छ ।
यसअघि यसै वर्ष विद्यार्थीको नेतृत्वमा भएका प्रदर्शन परीक्षा अनियमितता र शैक्षिक सुधारको मागमा केन्द्रित थिए । सीजेपीले नेतृत्व गरेको आन्दोलन कैयौँ सातासम्म चलेको थियो । त्यसपछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका थिए ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले गत मे महिनामा एक सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गरेपछि सामाजिक सञ्जालमा व्यङ्ग्यका रूपमा सीजेपीको सुरुआत भएको थियो । पछि उनले आफ्नो भनाइलाई गलत अर्थ लगाइएको बताएका थिए । तर त्यतिन्जेल उक्त टिप्पणी परिवर्तनको माग गरिरहेका युवाहरूको आन्दोलनको नारा बनिसकेको थियो ।
गर्मी याममा भएका प्रदर्शनपछि सीजेपी दबाब समूहका रूपमा विकसित भएको छ । बेरोजगारी, परीक्षा अनियमितता र सरकारको जवाफदेहितासम्बन्धी असन्तुष्टिलाई आधार बनाउँदै समूहले आफ्नो गतिविधि विस्तार गरेको छ ।

प्रतिक्रिया