अफताब आलमविरुद्धकाे मुद्दा न्यायाधीश आचार्यको इजलासमा

अफताब आलमविरुद्धकाे मुद्दा न्यायाधीश आचार्यको इजलासमा


रौतहट ।

पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध दायर मुद्दा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ ।

४ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो । आज मुद्दामा अन्तिम सुनुवाइ हुने बतायएको छ ।

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ ।

आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् । उनीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि गत पुस २९ गते हुने भनेर दिन तोकिए पनि धेरैजसो न्यायाधीश बिदामा बसेको भन्दै सो दिन पेसीमा चढेको थिएन ।

लामो अन्यौलका बिच रौतहट जिल्ला अदालतले आजबाट आलमविरुद्धको मुद्दामा पेसी तोकेको छ ।

माघ २८ गते आइतबारबाट निरन्तर सुनुवाइ हुने गरी रौतहट जिल्ला अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।