क्यानडाविरुद्धकाे खेलमा नेपालले पायाे २३३ रनको लक्ष्य

क्यानडाविरुद्धकाे खेलमा नेपालले पायाे २३३ रनको लक्ष्य


काठमाडाैँ ।

तेस्रो एकदिवसीय खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले  पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३२ रन बनायाे ।

क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक बनाए भने कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

अर्धशतक बनाएका धिवाललाई  नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराएका थिए ।

त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए।

निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए।

विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।

४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो। रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १(१ विकेट लिए।

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज आफ्नाे नाम गरी सकेकाे छ ।