५ हजार ५५५ किलोको महाघण्टी पञ्चकोटमा

५ हजार ५५५ किलोको महाघण्टी पञ्चकोटमा


बागलुङ ।

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ ।

पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अनुसार उक्त महाघण्ट राखिएको हो ।

पञ्चकोटमा फागुन ९ गतेदेखि आयोजना हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा महाघण्टको विधिपूर्वक स्थापना गरिने भएको छ । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकोले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको छ ।

महाघण्टी बनाउन ८ वर्ष लाग्यो । पञ्चकोटमा निर्माण गर्न लागिएको १ सय ८ फिट अग्लो गण्डकी विश्वशान्ति कलसको फाउण्डेसन नजिकै महाघण्टी राखिएको छ ।

महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीहरूमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब दुई करोड रुपैयाँ खर्च लागेको अनुमान छ ।

भक्तजनहरूले महाघण्टको निर्माण गरेर पञ्चकोटलाई समर्पण गरेको ब्रह्माण्डीय महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए । उनले भने, ‘‘महायज्ञको शुभारम्भका दिन महाघण्ट बजाइने छ र यसको ध्वनि सबैले सुन्नेछन् ।’’ फागुन ९ गतेदेखि सुरु हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञका अवसरमा घण्टाको विधिवत् रूपमा प्राणप्रतिस्ठाको कार्य गरिने उनले जानकारी दिए ।

सोमबार महायज्ञस्थलमा सम्पन्न भएको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकमा सहभागी हुन आएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महाघण्टको अवलोकन गर्दै पञ्चकोटलाई चिनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।