विराटनगरमा चन्दा माग्दै शंकास्पद वस्तु राख्ने इलामका मिश्रसहित २ जना पक्राउ

विराटनगरमा चन्दा माग्दै शंकास्पद वस्तु राख्ने इलामका मिश्रसहित २ जना पक्राउ


विराटनगर ।

विराटनगरमा चन्दा आतंक मच्चाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक समेत गरेको छ ।

उनीहरूले मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरूमा भूमिगत संगठनका नाममा चन्दा आतंक मच्चाएको प्रहरीले जनाएको छ ।

नेपाल कम्युनिट पार्टी (माओवादी)का महासचिव महावीरका नाममा उनीहरूले शैक्षिक संस्थाहरूमा चन्दाका निम्ति चिठी पठाएको प्रहरीले जनाएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–१, गजुरमुखी घर भई काठमाडौंको भीमसेनगोलामा बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपीन अधिकारीलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

यसअघि, मंगलबार बिहान विराटनगर महानगरपालिका–३ मा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको थियो । सो घटनामा पनि उनीहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट विस्फोटक पदार्थ बनाउने सामग्री सातवटा डेटोनेटर, १८ फिट तीन इन्च लम्बाइको तार, एक केजी सोडा र सहयोग रसिदका दुई ठेली बरामद गरिएको छ ।

यस्तै, सहयोगका निम्ति लेखिएको पत्र, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आईडी कार्ड, डायरी र एनसेलका पाँच सिम बरामद गरिएको प्रहरीले जनाएको छ ।