लागुऔषध नियन्त्रणमा रंगेली प्रहरीद्वारा ६ महिनामा १३ जनालाई कारबाही

लागुऔषध नियन्त्रणमा रंगेली प्रहरीद्वारा ६ महिनामा १३ जनालाई कारबाही


मोरङ ।

इलाका प्रहरी कार्यालय रंगेलीले गएको ६ महिनामा १३ जनालाई लागुऔषध मुद्दामा कारबाही गरेको छ ।

प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंका अनुसार भारतीय सीमा क्षेत्रमा पर्ने रंगेली चोप्राह बोर्डर, आमगाछी, धनापट्टी, सिक्टी, बरडंगा, मायागन्ज, नोचालगायत बोर्डरबाट ठुलो मात्रामा लागुऔषध ओसार पसार हुने गरेको छ ।

सोही क्रममा गएको ६ महिनामा लागुऔषध ओसारपसारमा संलग्न एक टेम्पो, ४ वटा मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरी मुद्दा चलाइएको चौलागाईँले बताए ।

उनीहरूको साथबाट ७ केजी ५०० ग्राम गाँजा, लागुऔषध ट्याबलेट ७ हजार ५३१ पिस, ब्राउन सुगर १ हजार ८५० मिलिग्राम, प्रतिबन्धित सिरप २१ बोतल फेला परेको थियो । सोही अवधिमा ३ जना लागुऔषध प्रयोगकर्तालाई पनि सुधार केन्द्रमा पठाइएको छ ।

लागुऔषधको अवस्था भयावह हुँदै गएपछि प्रहरीले विद्यालयमा जनचेतनामूलक कार्यक्रम समेत गरेको छ । यस अवधिमा १२१ पटक जनचेतनामूलक कार्यक्रम गरिसकेको चौलागाईँले बताए ।