ईशनाथ नगरपालिकामा बढ्याे कर्फ्यु दायरा

ईशनाथ नगरपालिकामा बढ्याे कर्फ्यु दायरा


रौतहट ।
रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिमै उच्छृंखल गतिविधि हुँदा स्थानीय प्रशासनले कर्फ्यु दायरा बढाएको छ।

ईशनाथ-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउने विषयमा २ समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छत बाट ढुंगा हान्दा स्थानीय कार्तिकेश ठाकुरलगायत घाइते भएका थिए।

झडपमा मुस्लिमतर्फ पनि घाइते भएको तर घाइतेको संख्या यकिन हुन नसकेको प्रहरीले बताएको थियो। घटना नियन्त्रण गर्न मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेल, सशस्त्रका डिआइजी दीपेन्द्रसाह समेत घटनास्थल पुगेका थिए।

स्थिति नियन्तरणमा लिन सिडियो हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका थिए।कर्फ्यु अवधिमै उच्छृंखल गतिविधि भएपछि स्थानीय प्रशासनले कर्फ्यु क्षेत्र फराकिलो बनाएको छ।

कर्फ्यु जारी भएसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ति परिचालन गरिएको छ।

यसैबीच कर्फ्युकै अवधिमा आज आइतबार आज केही उच्छृंखल युवाहरूको समूहले ईशनाथ नगरपालिका औरैया गाउँमा रहेको मस्दिजको माथि गुम्बजबाट माइक खोलेको छ।

यसरी मस्जिदको माइक खोल्दा पुनः अवस्था तनावग्रस्त हुन सक्ने भएकाले प्रहरीले सजगता अपनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भइरहेको बताएकी छन्।

कर्फ्यु अवधिमै थप साम्प्रदायिक विवाद बढ्ने सम्भावनालाई मध्यनजर गर्दै सिडियो रेग्मीले आइतबार एक सूचना जारी गर्दै कर्फ्युको दायरा फराकिलो बनाएको छ।

बनजरहा नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैया देखि जयनगरसम्म चारकिल्लाभित्र कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

साथै यस साम्प्रदायिक विवादलाई फैलाउने/बढाउने कुनै प्रकारको तस्बिर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।

पछिल्लो २-३ दिनदेखि केही मानिसले ईशनाथको घटनासँग जोडिएको विभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिविधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाबासीलाई आग्रह गरेको छ।