सहकारीको ३३ लाख रुपैयाँ चोरी गरेको आरोपमा सञ्चालक पक्राउ

सहकारीको ३३ लाख रुपैयाँ चोरी गरेको आरोपमा सञ्चालक पक्राउ


दोलखा ।

जिल्ला प्रहरी कार्यालय दोलखाले करिब ३३ लाख रुपैयाँ चोरी गरेको आशंकामा मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

सहकारी चोरीको घटनाले नयाँ मोड लिएपछि प्रहरीले आइतबार बिहान सूर्योदयका अध्यक्षसहितका पदाधिकारी र व्यवस्थापकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले सहकारीका अध्यक्ष छत्रराज कोइराला, उपाध्यक्ष पुष्पबहादुर कार्की, सचिव हरिबहादुर खड्का, सह–सचिव शिवबहादुर कार्की र व्यवथापक महेन्द्र भुजेललाई नियन्त्रणमा लिएर सदरमुकाम चरिकोट ल्याएको छ।

केही दिनअघि ‘पोलिग्राफ’ परीक्षण गरेर पठाइएका व्यवस्थापक भुजेल पुनः पक्राउ परेका हुन्।

सहकारीका सञ्चालकविरुद्ध किटानी जाहेरी परेको र अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ।

सहकारीको कार्यालय रहेको पवटीको रमाइलो चोकस्थित घरका घरबेटी एवम् सो सहकारीका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेले गत शनिबार आत्महत्या गरेपछि सहकारी चोरीको घटनाले नयाँ मोड लिएको छ।

न्यौपानेले आत्महत्या गर्नुअघि सहकारी चोरीको घटना सञ्चालकले गरेको नाटक भएको र व्यवस्थापक महेन्द्र भुजेल प्रमुख प्रयोगको पात्र भएको सामाजिक सञ्जालमा लेखेका थिए। न्यौपानेले आत्महत्या गरेपछि उनका भाइ कोशिसमणि न्यौपानेले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीको आधारमा प्रहरीले चार जना सञ्चालक र व्यवस्थापकलाई नियन्त्रणमा लिएको हो।

व्यवस्थापक भुजेललाई यसअघि पनि प्रहरीले पटक–पटक पक्राउ गरी रिहा गर्दै आएको थियो। सहकारी चोरी प्रकरणमा सूर्योदयका अर्का एक कर्मचारी र पवटी रमाइलो चोकमा होटल व्यवसाय गर्ने अर्का एक युवक पनि प्रहरी हिरासतमा छन्।

मृतक कपिलमणिको शव सदरमुकाम चरीकोट ल्याइएको छ। मृतकका परिवारलगायत गाउँलेले प्रहरी नायब निरीक्षक दीपक खड्काले मादक पदार्थ सेवन गरी दिएको यातना र दुरुत्साहनबाट आत्महत्या गर्न बाध्य बनाइएको भन्दै खड्कालाई कारबाही नगरेसम्म लाश नबुझ्ने भनी पटक पटक जिल्ला प्रहरी कार्यालय घेराउ र जुलुस गरिरहेका छन्।